प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच भेटघाट

सामाजिक जागरण र रुपान्तरणका कार्यक्रम सञ्चालन गर्न सरकारलाई सुझाव

सुर्खेत । प्रदेश प्रमुख तिलक परियार र मुख्यमन्त्री जीवनबहादुर शाहीबीच शनिबार भेटघाट भएको छ । भेटका क्रममा मुख्यमन्त्री शाहीले सरकारले गरेका काम–कारवाहीका बारेमा प्रदेश प्रमुखलाई जानकारी गराएका छन् ।

मुख्यमन्त्री शाहीले हरेक बुधबार मन्त्रिपरिषद् बैठक बस्ने गरेको, प्रत्येक आइतबार मन्त्रालयका सचिवसँग नियमित बैठक बस्ने गरेको, कोरोनाका कारण रोकिएका विकास योजनाको म्याद तीन महिना थप गरिएको, भौतिक पूर्वाधार र उर्जा जलस्रोत विकास मन्त्रालयमा देखिएको कर्मचारीको समस्या समाधान भएको, दोस्रो चौमासिकमा पुँजीगत खर्च बढ्ने जानकारी गराएका थिए ।

यस्तै मुख्यमन्त्रीज्यूले पाँच वर्षदेखि १७ वर्षसम्मका कर्णालीका सम्पूर्ण बालबालिकालाई खोप लगाउने तयारी भइरहेको जानकारी पनि दिए ।
भेटका क्रममा प्रदेश प्रमुखले प्रदेश सरकारका काम–कारवाहीप्रति आफू सन्तुष्ट रहेको बताए । आन्तनिर्भर अर्थतन्त्रको विकासका लागि सरकारले त्यहीँ अनुसारका नीति, कार्यक्रम ल्याउनुपर्ने उनको भनाई छ ।

कृषिको उत्पादन बढाउनका लागि कृषकका उत्पादनहरु प्रदेश सरकारले खरिद र बजारिकरणको व्यवस्था गर्ने वातावरण मिलाउन, कालापहाड र विदेशमा जाने मानव श्रमलाई आफ्नै गाउँठाउँमा प्रयोग गर्ने वातावरणका लागि सरकार लाग्नुपर्ने प्रदेश प्रमुख परियारको सुझाव छ । प्रदेश प्रमुख परियारले कर्णालीमा जातीय विभेदका घटनाहरु धेरै हुने भएकाले सामाजिक जागरण र रुपान्तरणका कार्यक्रम पनि सञ्चालन गर्न सरकारलाई सुझाव दिए ।