
सुर्खेत । रत्नबहादुर थारु मंगलबार बिहान खेतबारीमा धान उठाउँदै थिए । घुँडाभन्दा माथीसम्म आएको पानी, त्यहि पानीबाट धानको पाँजो उठाउँदै उनले आलीमा राख्दै थिए । वीरेन्द्रनगर नगरपालिका वडा नं ९ को तल्लो पर्सेनीमा रहेको आठकठ्ठा जमिनमा लगाएको अधिँया धान उनले दशैं अगाडि नै काटेका हुन् । “आज उठाउनुपर्ला भनेकै दिन पानी प¥र्यो ।, उनले भने “दिनभरी लागेको टंटलापुर घामले झुक्यायो ।”
धान उठाएर आलीमा राखेपनि आलीसम्म आएको पानीले धान डुबाएको थियो । तरपनि वर्षभरी खाने खेतीको स्याहार रत्नबहादुरले गर्न छोडेका थिएनन् । “अब यो धान उठाएर काम छैन , उनले लामो स्वास फेर्दै थपे “ ६ जना परिवारको पेट कसरी भर्नेहोला !

सोहि स्थानकी गीता केसीको समेत अवस्था उस्तै थियो । १२ कठ्ठा जमिनमा अधिँया धान रोपेकी उनी समेत गहभरी आँशुपार्दै धानका पाँजा आलीमा राख्दै थिईन् । आलीसम्म आएको पानीले धान डुबाएकै थियो । धान उठाएर सुक्ला भन्ने आशामा उनले आलीसम्म धान उठाउँदै थिइनन् ।
लगातारको वर्षाका कारण काटेको धान डुबाएपछि उनी ठुलो चिन्तामा परेकी छन् । किसानलाई क्षती हुँदा राज्यका कुनैपनि निकाय अनुगमनमा नआएको उनले गुनासो गरिन् । राज्यले किसानलाई भएको क्षती समेत बेहोर्नुपर्ने उनले तर्क गरिन् । “किसानलाई प्रोत्साहनका कार्यक्रम आएका छन् रे ।, उनले भनिन् “ झोलामा कृषी फार्म बोक्नेलाई अनुदान दिनुभन्दा बास्तविक किसानलाई क्षती पुग्दा राज्यले राहत दिनुपर्छ ।” देशका नागरिकको मुख्य आयस्रोत कृषी क्षेत्रमा समेत राज्यको लगानी बढ्नुपर्ने उनले सुनाईन् ।
कर्णाली प्रदेश कृषि विकास निर्देशनालयले २० देखि २५ प्रतिशत धानबालीमा क्षति पुर्याएको अनुमान गरेको छ । निर्देशनालयका निमित्त निर्देशक चित्र बहादुर रोकायले क्षतिको विवरण संकलनको काम भइरहेको बताए । उनका अनुसार कर्णालीमा करिब ४८ हेक्टर जमिन क्षेत्रफलमा धानखेती हुन्छ । जसमध्य २५ प्रतिशत धान काटिएको अनुमान गरिएको उनले जानकारी दिए । किसानहरुले काटेको सबै धान पानीले खेतमै भिजाएको रोकायले सुनाए ।

सुर्खेतको वीरेन्द्रनगर उपत्यकाको तल्लो भागमा निकास नहुँदा धानमा धेरै क्षति हुन सक्ने उनले अनुमान गरे । उनले भने, ‘निकास नहुँदा खेतमा पानी भरिएको छ । काटेको धानसँगै नकाटेको धान पनि हावाले ढालेकोले पानीमा भिजेको छ । छिट्टै मौसम सफा नभए अझै कुहिने सम्भावना हुन्छ ।’
उनले सुर्खेतमा १३ हजार हेक्टर जमिनमा लगाइएको धानबाली मध्य २० प्रतिशतको हारहारीमा काटेकोले क्षति पुगेको जानकारी दिए । कर्णालीमा धान बाली लगायत कोदो, कागुनो, सिमिमा पनि पानिले असर गरेको उनले बताए ।


सीता वली २ कार्तिक २०७८, मंगलवार १९:५८