सीपी गजुरेलले पूर्वमाओवादीहरुको एकता वार्ताका लागि राखे तीन शर्त

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले पूर्वमाओवादीहरु एकजुट हुनुपर्ने प्रस्तावलाई आफूहरुले सकारात्मक रुपमा लिएको बताएका छन् । तर त्यसका लागि आधार तयार पार्नुपर्ने भन्दै उनले तीन बुँदे शर्त अघि सारेका छन् ।

आइतबार शुरु भएको नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गजुरेलले आफूहरु पनि कम्युनिस्ट क्रान्तिकारीहरु एकजुट हुनुपर्छ भन्ने पक्षमा रहेको बताए । त्यसका लागि माओवादी केन्द्रले आधार तयार पार्नुपर्ने भन्दै उनले तीन बुँदा अघि सारे ।

पहिलो ः जनयुद्ध सुरु गर्नुभन्दा अगाडिको केन्द्रीय समितिको बैठकमा हामीले जे प्रतिवद्धता जाहेर गरेको थियौं, त्यसलाई पुनर्स्थापित गर्नुपर्छ ।

दोस्रो ः हामीले जुन लक्ष्य राखेर जनयुद्ध गरेका थियौं, त्यो लक्ष्य अहिले पनि अधुरो र अपुरो छ । ‘नेपाललाई जनगणतन्त्र बनाउन अगाडि बढौं, त्यो कार्यक्रम पारित गरौं, म अनुरोध गर्न चाहन्छु,’ गजुरेलले भने ।

तेस्रो ः राष्टिय स्वाधीनताका विषयमा केही महत्वपूर्ण निर्णय लिनुस् । ‘अहिले चलिराखेको विवाद जुन छ, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न तपाईंहरुले जोड लगाउनु होला,’ उनले भने, ‘हामीले गुमाएका भूभागहरु नक्सामा त हासिल ग¥यौं । वास्तविक रुपमा हासिल गर्न सकेको छैनौं । कालापानी लिनुलेक, लिम्पियाधुरा हासिल गर्न प्रतिवद्धता होस् ।’

क्रान्तिकारी माओवादीका नेता गजुरेलले अघि भने, ‘यी सबै भयो भने पार्टी एकताका लागि बहस गर्ने, छलफल गर्ने ढोका खुल्छ । यो महाधिवेशनले त्यो ढोका खोलोस् ।’