काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा आफैं फुट आउने दाबी गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित पार्टीको वागमती प्रदेशस्तरीय बृहत भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले कतिपयले सत्तारुढ गठबन्धन फोडौँ भन्ने गरेको प्रसंग उल्लेख गर्दै त्यो आफैं फुटेर जाने बताए।
उनले गठबन्धनमा आवद्ध दलहरु सबै स्वार्थी पूँजीवादी बाटोमा हिँडेकाले उनीहरु कहिल्यै एकतावद्ध हुन नसक्ने तर्कसमेत गरे।
सत्तारुढ गठबन्धनलाई देशद्रोहीको संज्ञा दिँदै अध्यक्ष ओलीले उनीहरुको एकतालाई फोड्न चाँदीको तरबार बनाउन आवश्यक नरहेको पनि बताए। देश बनाउने पार्टीको महान उद्देश्यमा सो गठबन्धन तगारो बनेकाले आगामी निर्वाचनपछि उनीहरुलाई मिल्काएर फाल्नुपर्ने अध्यक्ष ओलीको चेतावनीयुक्त भनाइ थियो।
‘सबभन्दा अगाडि त एउटा प्रतिक्रियावादी मनसाय बोकेको, देशद्रोही मनसाय बोकेको भ्रष्ट गठबन्धन नामको अपवित्र एउटा चिज छ। त्यो अनेक हिसावले हामीलाई असफल बनाउन आउने, हाम्रा महान उद्देश्यतर्फ तगारो बनेर त्यो बीचमा आउनेछ। त्यसलाई हामीले मिल्काउनु पर्नेछ। कतिले भन्छन–यो गठबन्धन फोडौं’ उनले भने, समयक्रममा गठबन्धन आफैं फुट्छ। स्वार्थी पूँजीवादी बाटो हिँडेर कहिल्यै एकतावद्ध हुने सम्भावना नै हुँदैन। यो स्वार्थको खेल हो यीनीहरुको। उद्देश्यमा, गन्तव्यमा एकता होइन।’
‘एक ढिक्का हुनुपर्छ’
आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टी ढिक्का भएर अघि बढने समेत बताए। स्थानीय तहको निर्वाचनमा जस्तो पार्टीका कार्यकर्ताहरु इमानमा नरहने अवस्था अब नआउने र आगामी निर्वाचनमा आफ्नो पार्टी विजयी हुने बताए।
स्थानीय तह निर्वाचनमा जस्तो पार्टीमाथि नै घात नगर्न पनि पार्टीका कार्यकर्तालाई सचेत गराए। माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले एमालेले हार्यो भनेर गरेको प्रचारको भ्रममा नपर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे।
‘हामी हाम्रा महान अभिभाराहरू पूरा गर्न हाम्रा अगाडिका गम्भिर चुनौतिलाई पराजित गर्नका लागि नेकपा (एमाले) एक ढिक्का भएर उभिन्छ। एक ढिक्का भएर अगाडि जुध्दै तिनलाई पराजित गर्दै विजय हासिल गर्छ। यसमा हामी सबै प्रतिवद्ध छौं नि होईन ? इमान्दारीताका साथ लाग्छौं होइन ? हामी इमान्दारीताका साथ लाग्छौं। अस्तीको चुनावजस्तो कुनै पनि हालतमा हुन दिँदैनौँ। यो हाम्रो संकल्प हो’ उनले भने, ‘अस्तीको चुनाव राम्रो भएन। तर, हाम्रा विरोधीहरुले भनेजस्तो १०/१५ वटा सिट ल्याएको छ। त्यहि पनि अर्काको भरमा। अर्कोको रुखबाट झरेको पात भेला गरेर डोकोमा हालेको छ अलिअलि। अनि त्यो अलिअलि डोकोमा हालेर एमालेको त वनै समाप्त भो भन्ने ? न आफ्नो विरुवा छ, न अरु छ।’
‘एमालेसँग अहिले हार्यौै भन्दाखेरी पनि दोस्रो पार्टी सिटको हिसावले पनि एमाले नै होला। २०६ सिटमा एमाले नै जितेको होला नि! कसैले हात पेल्ने, कसैले पिँडुला टोक्ने, तिघ्रामा उफ्रिउफ्रि झम्टिने सबै गर्दा पनि काँग्रेस भन्दा एक लाख बढी मत एमालेले ल्याएको होला नि! अहिले विभिन्न खोजमेल, गोडमेल, पैँचो, सापटी गर्दा पनि ३ प्रतिशत पुर्याउन नसक्नेले एमाले हार्यो भनेर गरेको हल्लाको पछाडि परिरहनु जरुरी छैन’ उनको भनाइ छ।

फरकबाटो ४ श्रावण २०७९, बुधबार १७:३८