सरकारले हाम्रो भत्ता घरमै ल्याइदिओस्

८७ वर्षीय हरिकला आचार्य

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं ११ गाग्रेताल सुर्खेतकी हरिकला आचार्य ८७ वर्षकी भइन् । जेष्ठ नागरिक सम्बन्धि थुप्रै कार्यक्रमहरुमा उनी प्राय सहभागी हुन्छिन् । आइतबार वीरेन्द्रनगरमा आयोजित प्रथम राष्ट्रिय जेष्ठ नागरिक दिवसमा पनि उनी सहभागी थिईन् । दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी उनको अनुहारमा छुट्टै खुसी झल्किएको थियो ।

‘जेष्ठ नागरिकले पनि राष्ट्रिय दिवस मनाउने भए ’उनले खुसी हुँदै भनिन् “तर दिवस मात्रै मनाएर के गर्नु भत्ता लिन बैंक जानैपर्छ ।” हरिकलाले दिवसको अवसरमा आयोजित कार्यक्रममा बैंकको भत्ता घरैसम्म ल्याइदिनुस् भन्नका लागि सहभागी भएको सुनाईन् ।

८७ वर्षको उमेरमा सरकारले दिने सामाजिक सुरक्षा भत्ता लिन बैंक जानुपर्ने बाध्यताबाट राष्ट्रिय जेष्ठ नागरिक दिवसले मुक्ति दिन्छकी भन्ने उनलाई आश लागेको छ ।

‘बैंकमा दिनभरी लाइन लाग्नुपर्छ ’ उनले थपिन् “ बरु एकदुई दिन ढिलै भएपनि घरमै भत्ता ल्याइदिए खुसी हुन्थ्यौं ।” सामाजिक सुरक्षा भत्ता मात्रै होइन हरिकलाले सुगर र प्रेसर जस्ता समस्याहरुको नियमित जाँच तथा औषधीको व्यवस्था समेत हुनुपर्ने बताईन् ।

७८ वर्षीय बलिराम जैशी

वीरेन्द्रनगर नगरपालिका वडा नं ३ सुर्खेतका बलिराम जैशी समेत प्रथम राष्ट्रिय जेष्ठनागरिक दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन पाउँदा खुसी देखिन्थे । उनको पनि हरिकला आचार्यको जस्तै सरकारसंग अपेक्षा छ । सरकारले सामाजिक सुरक्षा भत्ताको लागि जेष्ठ नागरिकलाई बैंक जान बाध्य नगरोस् ।
छोरा–छोरी साथमा हुनेहरुलाई सहज भएपनि कोही नहुनेहरुका लागि भने बैंकको सामाजिक सुरक्षाभत्ता सास्ती नै भएको जैशीले सुनाए ।

७८ वर्षीय जैशीले न्यानो कपडा, खानाको व्यवस्था र स्वास्थ्य उपचारमा समेत राज्यको ध्यान हुनुपर्ने बताए । उनले जेष्ठ नागरिकका नाममा विनियोजन भएको बजेट केही संस्थाहरुले मनोमानी गरेको भन्दै प्रत्यक्ष रुपमा जेष्ठ नागरिकहरुले लाभ पाउने खालको कार्यक्रम ल्याउन समेत सरकारलाई आग्रह गरे ।

नेपाल सरकार मन्त्रीपरिषद्को गत जेठ १० गते बसेको बैठकले जेष्ठ नागरिकको सम्मानका लागि पौष ११ गतेलाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

जेष्ठ नागरिक दिवसका अवसरमा आयोजित कार्यक्रमका सहभागी

सोहि अनुरुप वीरेन्द्रनगर नगरपालिका सुर्खेतले आइतबार आयोजना गरेको प्रथम राष्ट्रिय जेष्ठ नागरिक दिवस कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरुले सामाजिक सुरक्षाभत्ता सास्ती नै भएको बताएका हुन् ।

सरकारले राष्ट्रिय दिवस मनाउने निर्णय गर्नु स्वागतयोग्य भएको भन्दै जेष्ठ नागरिकहरुका लागि प्रत्यक्ष लाभ पाउने खालका कार्यक्रम ल्याउनुपर्ने उनीहरुले बताएका हुन् ।