कर्णालीमा लैङ्गिक हिंसा सम्वन्धी एकीकृत सूचना प्रणाली व्यवस्थापन गरिने

सुर्खेत । कर्णालीमा लैंगिक हिंसा सम्वन्धी एकीकृत सूचना प्रणाली व्यवस्थापन गर्न लागिएको छ । त्यसका लागि आवश्यक पर्ने कार्यविधि निर्माण गर्न कार्यदल गठन गरिएको छ ।

सामाजिक विकास मन्त्रालयका सामाजिक विकास अधिकृत अनिता ज्ञवालीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामबहादुर बुढा, प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक सपना आरसी, किर्डाकका नवीन शाही, स्याकका टिकाराम आचार्य र सदस्य सचिवमा सामाजिक विकास मन्त्रालयका सुनिल लिम्बु रहेका छन् । कार्यदललाई दुई हप्ताभित्र कार्यविधि बनाउन समय दिइएको छ ।

सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले काम गर्दा जोखिमयुक्त क्षेत्रलाई प्राथमिकता दिन सुझाव दिए । उनले एकीकृत सूचना व्यवस्थापन प्रणाली प्रभावकारी बनाउन सकेको खण्डमा लैंगिक हिंसाको घटनाहरु एकीन हुने उल्लेख गरे । प्रदेश सरकारले लैंगिक हिंसा र बालविवाहमा न्यूनीकरण गर्न छोरी बचत कार्यक्रम संचालन गरेको प्रष्ट्याए ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जिल्ला तहबाट प्रदेश हुँदै मन्त्रालयमा यसवारे बास्तविक तथ्यांक आउनुपर्ने बताए । उनले कार्यविधि बनेपछि यसबाट काम गर्न सहज हुने विश्वास व्यक्त गरे ।

सामाजिक विकास मन्त्रालयका सामाजिक विकास अधिकृत अनिता ज्ञवालीले अहिलेसम्म लैंगिक हिंसाको घटनाको सूचना व्यवस्थापन हुन नसकेको बताइन् । उनले अव भने व्यवस्थापन गर्न लागिएको जानकारी दिइन् ।