बाग्मती प्रदेशको उपसभामुखमा एमालेकी अप्सरा चापागाईं निर्वाचित


सुर्खेत । बाग्मती प्रदेश सभाकोे उपसभामुखमा नेकपा एमालेकी अप्सरा चापागाईं निर्वाचित भएकी छन् । तीन जनाको प्रतिस्पर्धामा उनी निर्वाचित भएकी हुन् ।

आज सोमवार दिउँसो प्रदेश सभामा भएको उपसभामुखको निर्वाचनमा चापागाईंले एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीका सांसदसमेतको गरी ६१ मत प्राप्त गरेकी हुन् । उनको विपक्षमा ३९ सांसदले मतदान गरे भने र सात सांसद तटस्थ रहे । मतदानका क्रममा एक सय आठ जना सांसद उपस्थित थिए ।

एमालेकी चापागाईंको प्रस्तावकमा माओवादीकी सांसद कुमारी मोक्तान र समर्थकमा आशा लामा रहेकी थिइन् । चापागाईंको प्रतिस्पर्धी नेपाली कांग्रेसकी सोना परियार र नेपाल मजदुर किसान पार्टीकी रीता काफ्ले थिइन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भोलि मङ्गलवार सदनबाट विश्वासको मत लिँदै छन् । त्यसअघि सबै प्रक्रिया टुङ्गिनेछ ।