कोरोनाको समयमा हुने भेदभाव न्यूनिकरणको लागि सचेतना आवश्यक

सुर्खेत । कोरोनाको समयमा हुने भेदभाव र लाल्छना न्यूनिकरण गर्न सचेतना जगाउन आवश्यक रहेको सरोकारवाहरुले बताएका छन् । आइतबार वीरेन्द्रनगरमा सेभ द चिल्ड्रेन /ग्लोबल फण्डको आर्थिक सहयोगको कपिलबस्तु इन्टिग्रेटेड डेभलपमेन्ट सर्भिसेज (किड्स) ले आयोजना गरेको कार्यक्रममा उनीहरुले भेदभाव र लाल्छना न्यूनिकरण गर्न सचेतनामुलक कार्यक्रम आवश्यक रहेको बताएका हुन् ।

कोरोनाको सुरुवातीको अवस्थामा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारी र कोरोना संक्रमित व्यक्तिहरुमा हुने भेदभाव तथा लाल्छना न्यूनिकरण गर्न सचेतना जगाउन आवश्यक रहेको उनीहरुको भनाई छ । फ्रन्टलाइनमा काम गर्ने र संक्रमितबाट कोरोना सर्छ भनेर समाजले भेदभाव गर्ने गरेको उनीहरुको भनाई छ । कोरोनाको सुरुवाति चरणमा धेरै भेदभाव भएको र अहिले केही कमी भए पनि बुझाईमा भने परिवर्तन नभएको उनीहरुले बताए ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देव कुमार सुवेदीले कोरोनाको समयमा भेदभाव न्यूनिकरण गर्न सचेतना आवश्यक रहेको बताए । उनले भने, ‘कोरोनाको सुरुवाति चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधिलगायत फ्रन्टलाइन काम गर्ने र संक्रमित व्यक्तिहरुले कोरोनाका कारण धेरै भेदभाव भोग्नु प¥यो । अझै पनि भेदभाव लाल्छना भोग्नुपर्ने बाध्यता छ । सबैले आआफ्नो ठाउँबाट सचेतना जगाउँन आवश्यक छ ।’

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले कोरोनासँग सम्बन्धी बुझाई नहुँदा अझै पनि भेदभाव र विभेद भोग्न बाध्य भएको बताए । उनले कोरोनासँग सम्बन्धी सचेत गराउन प्रचारप्रसार गरिएको जानकारी दिए ।

उनले भने, ‘सचेतना सम्बन्धी सुचना आदनप्रदान गरिरहेका छौँ । कोरोनाका कारण सुरुवातिका चरणमा फ्रन्टलाइनमा काम गर्ने र संक्रमितलाई धेरै भेदभाव भयो । अझै पनि भेदभाव छ । सबैको हातेमालोमा बिस्तारै न्यूनिकरण गर्दै अघि बढ्नुपर्छ ।’