हनुमानढोका परिसरभित्र सवारीसाधनलाई प्रवेश निषेध

सुर्खेत । काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधनलाई प्रवेश निषेध गर्ने घोषणा गरेको छ ।

महानगरपालिकाले न्युरोडको शालिक गेटदेखि वसन्तपुर क्षेत्र सबैमा सवारीसाधन निषेध गरेको महानगरीय प्रहरी बल, काठमाडौंका हनुमान ढोका इन्चार्ज ध्रुव भुजेलले जानकारी दिए ।
सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले सम्पदा क्षेत्रभित्र सवारीसाधन निषेध गरेको उनले बताए ।

सोमबारबाट नै सम्पदा क्षेत्रमा सवारीसाधन निषेध गरिएको र बुधबार मेयर बालेन्द्र साह र सम्पदा क्षेत्रका अधिकारीहरुसँग बैठक बसी थप निर्णय गरिने बताएका छन् । उनले सम्पदा क्षेत्रमा जानेहरुका लागि न्युरोड, विशाल बजार र अन्य बाहिरी क्षेत्रमा पार्किङ गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै, अर्का महानगर प्रहरी ध्रुव सिंह थापाले एम्बुलेन्स र दमकलबाहेकका सवारीसाधन सम्पदा क्षेत्रमा प्रवेश नदिएको बताए । वसन्तपुरको चिनारी नै प्राचीन सम्पदा भएकाले तिनको मौलिकता जोगाउन आवश्यक भएको महानगरले जनाएको छ ।