सिम्ताली– नेपाली शब्दकोश निर्माण सम्बन्धी गोष्ठी सम्पन्न

सुर्खेत ।  सिम्ताली एकता समाज नेपालले भाषिका सिद्धान्त, नेपाली भाषाका भाषिक भेदहरू र सिम्ताली– नेपाली शब्दकोश निर्माण“ सम्बन्धी गोष्ठी सम्पन्न भएको छ ।सिम्ता गाउँपालिकाको सहयोगमा सिम्ताली एकता समाज नेपालले गोष्ठीको आयोजना गरेको हो ।

गोष्ठीमा बोल्दै प्रा.डा.जीवेन्द्र देव गिरीले भाषिकाबारे महत्वपूर्ण छलफल हुनु र सिम्ताली – नेपाली शब्दकोश छिटै प्रकाशित हुने खबरले खुशी व्यक्त गरे ।

विशिष्ट अतिथि सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र के.सीले भाषा – साहित्य र संस्कृतिको विकासका निम्ति हरेक वर्ष गाउँ पालिकाले बजेट छुट्याउने गरेको बताए । सिम्ताली नेपाली पाठ्यक्रमका सिम्ताली – नेपाली सब्दकोष, यस भाषाकाको व्याकरण र सिम्ताली लोकगीत सम्बन्धी पुस्तक गाउँपालिकाले प्रकाशन गर्ने उनले जानकारी दिए ।

प्रा.डा.जीवेन्द्र देव गिरीले “ सिम्ताली– नेपाली शब्दकोश निर्माण“, डा.हर्कबहादुर शाहीले “ नेपाली भाषाका भाषिक भेदहरू“ र रमेश खत्रीले “ भाषिका सिद्धान्त“ विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् । उक्त कार्यपत्रहरूमाथि क्रमशः डा.दीपक गौतम, बलभद्र भारती र रेशम विष्टले टिप्पणी गरेका थिए ।

शब्दकोशमा सुझाबका निम्ति गठित विभिन्न समूहका तर्फबाट रुद्र के.सी., भूपाल सिंह ठकुरी र मानबहादुर शाहीले केही सुझाब दिँदै आफूहरूले पछि पनि यसको शब्द संख्या बढाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेकपा(एमाले)का प्रदेश कमिटी सदस्य ऐनबहादुर चन्द, गा.पा. पार्टी कमिटी अध्यक्ष डम्बर घर्ती, नेपाली काँग्रेसका सभापति वीरेन्द्र रावत र नेकपा( एकीकृत माओवादी) का अध्यक्ष झुपबहादुर बुढाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा पृथ्वीबहादुर सिंह, निरञ्जना चन्द, कोकिला सिंह, विष्णु महतारा, सीता यरी, श्री वि.क. लगायतका स्रष्टाहरूले कविता गजल वाचन  गरेका थिए ।