कांग्रेसको मतदानस्थलको तस्बिर लिन रोक लगाए पछि फोटो पत्रकारहरुको विरोध

काठमाडौँ । भृकुटीमण्डपमा जारी कांग्रेसको मतदानस्थलमा तस्बिर लिन अवरोध गरेपछि विभिन्न सञ्चारमाध्यमका फोटोपत्रकारले ’क्यामेरा डाउन’ गरेका छन् ।

मतदानस्थलमा रिपोर्टिङका क्रममा तस्बिर र भिडियो लिन पुगेकाहरुलाई प्रहरी प्रशासन लगाएर गेट बाहिर निकाल्न खोजेपछि आफूहरुले ’क्यामेरा डाउन’ गरेको त्यहाँ रहेका सञ्चारकर्मीहरुले बताएका छन् ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार बिहान भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा रहेका मतदान केन्द्रमा मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन कार्यतालिका भए पनि ३ घण्टा ढिलागरी मतदान सुरु भएको हो । कांग्रेसका पाका नेता कुलबहादुर गुरुङले पहिलो भोट खसालेसँगै मतदान प्रक्रिया सुरु भएको हो ।

नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले सोमबार मतदान गर्दै छन् ।