नागरिकता र मतदाता परिचयपत्रमा जन्ममिति फरक परेपछि प्रधानमन्त्री विरुद्ध उजुरी

सुर्खेत । नागरिकता र मतदाता परिचयपत्रमा जन्ममिति फरक परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उजुरी परेको छ । डडेल्धुरामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेद्धवारी दिएका प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको हो ।

मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदश्य निर्वाचनका लागि असोज २३ गते दर्ता गरिएको मनोनयनमा प्रधानमन्त्री देउवाको जन्म मिति निजको नागरिकतामा भिन्न र फोटो सहितको मतदाता परिचयपत्रमा भिन्न भएको भन्दै मुलुकको कार्यकारी पदमा रहेका जिम्मेवार व्यक्तिबाट झुक्याएर त्रुटिपूर्ण कागजात पेश गरेको भन्दै नवदुर्गा गाउँपालिका वडा नंं ४ निवासी रमेश बहादुर ऐरले उम्मेदवारी खारेजीका लागि दाबी बिरोधको निवेदन दर्ता गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रधानमन्त्री देउवाको नागरिकतामा २००३ साल जेठ ३१ गते उल्लेख भएकोमा मतदाता परिचय पत्रमा २००२ साल जेठ ३१ गते जन्म मिति उल्लेख भएको र मतदाता परिचय पत्रमा मतदाताको क्रमसंख्या पनि अनियमित भएकोले निर्वाचन उम्मेदवारी प्रयोजनमा कानून विपरितको कागजात पेस गरेकोमा आवश्यक प्रमाणसहित उजुरी दिएको निवेदक ऐरको भनाई छ ।