१ सय २५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक

सुर्खेत । गएको मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हालसम्म १ सय २५ क्षेत्रको मत परिणाम आइसकेको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ती क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ भने चार क्षेत्रबाहेक अन्य क्षेत्रमा मतगणना भइरहेको छ । समानुपातिक प्रणालीको मतगणना पनि एकैसाथ भइरहेको छ ।

दोलखा, स्याङ्जा २ र बाजुरामा मतगणना सुरू हुन बाँकी रहेको छ । दोलखा र स्याङ्जामा सत्तापक्ष र प्रतिपक्षबीच विवादका कारण मतपेटिका संकलन भइसके पनि गणना सुरू हुनसकेको छैन । त्यहाँका विवाद भएका मतदानस्थलमा पुनः मतदान गराउने या मतगणना सुरू गर्ने भन्ने विषयमा आयोगले निर्णय गर्न बाँकी रहेको छ ।

बाजुराको बूढीनन्दा नगरपालिका ५ स्थित नन्देश्वरी मावि, पिपलचौर मतदान केन्द्रमा आज मतदान सम्पन्न भएको छ ।

आयोगले समानुपातिकतर्फ हालसम्म कूल ७६ लाख १२ हजार छ सय ९८ मतगणना गरेको छ । आयोगले साँझ ५ बजेर ४० मिनेटसम्म उपलब्ध गराएको विवरणअनुसार कूल ४७ राजनीतिक दलले प्राप्त गरेको मत गणना गरेको हो । समानुपातिक निर्वाचन प्रणालीमार्फत कूल एक सय १० प्रतिनिधिसभा सदस्य चुनिने संवैधानिक व्यवस्था छ ।