
सुर्खेत । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुँदैछ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारमा रहेको कानून, न्याय तथा मानवअधिकार समितिको हलमा दिउँसो २ बजे शपथ ग्रहण कार्यक्रम तय भएको छ । राष्ट्रियसभाका रिक्त हुन लागेका १८ सदस्यका लागि गएको माघ ११ गते चुनाव भएको थियो ।
सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधानको धारा ८६ को उपधारा २ बमोजिम शपथ गराउने कार्यक्रम छ । शपथ ग्रहणका लागि आफ्नो पहिचान झल्कने पोशाकमा निर्वाचन आयोगबाट प्राप्त राष्ट्रियसभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपीसहित उपस्थित हुनुपर्नेछ ।
नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले कानूनअनुसार शपथको व्यहोरा आफ्नो मातृभाषाका अनुवाद गरी उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।
निर्वाचन आयोगका अनुसार गएको माघ ११ गते राष्ट्रियसभा सदस्य चुनावमा कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल, सुनिलबहादुर थापा निर्वाचित भएका छन् ।
मधेश प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर निर्वाचित भएका छन् । त्यसैगरी बागमती प्रदेशबाट गीता देवकाटा र प्रेमप्रसाद दङ्गाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे निर्वाचित भएका हुन् ।
कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ्ग शाही निर्वाचित भएका छन् भने सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती निर्वाचित भएका छन् ।

फरकबाटो २५ फाल्गुन २०८२, सोमबार १०:४५