आज राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस मनाइँदै


सुर्खेत । आज राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती दिवस मनाइँदैछ । हरेक वर्ष वैशाख शुक्ल नवमीका दिन राष्ट्रिय विभूति सीताप्रति श्रद्धाभक्ति व्यक्त गरी यो दिवस मनाउने गरिन्छ । आजको दिनलाई सीता जयन्तीका रुपमा देशभरका रामजानकी मन्दिरमा विशेष पूजा गरी मनाइन्छ।

त्रेता युगमा मिथिलामा सीता उत्पत्ति भएको वर्णन विभिन्न ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा.डा देवमणि भट्टराईले बताए । उनले अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग विवाह भएको समेत सुनाए ।

आज जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजासहित मेला लाग्ने गरेको छ । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले सीता नेपाल भूमिकी पुत्री हुनु गौरवको विषय भएको बताए । उनले मिथिलाकालीन सभ्यतादेखि नै समाजमा महिलाको स्थान उच्च राख्न मार्गदर्शन गर्ने आदर्श नारीका रूपमा समेत सीतालाई श्रद्धा गरिने उल्लेख गरे ।

यस अवसरमा लैङ्गिक विभेदलगायत सबै प्रकारका सामाजिक र सांस्कृतिक विभेदको अन्त्य गर्दै प्रगतिशील, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि सबैमा निरन्तर प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् ।