सरकारलाई प्रश्न : कोरोना बढ्यो, तयारी के हुँदैछ?

काठमाडाैं । राष्ट्रियसभाकी बिहीबारको बैठकमा सांसदहरूले विभिन्न विषयका सवालहरू उठाएका छन्। उनीहरूले शून्य समयमा बोल्ने क्रममा एसइईको नतिजा छानबिन गर्नेदेखि राहदानी विभागको बिचौलियासम्मको विषय उठाएका हुन्।

सांसद अनिता देवकोटाले घोराही तुलसीपुरको फोर लेन सडक निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्  शून्य समयमा बोल्दै सांसद देवकोटाले घोराही तुलसीपुरको फोर लेन सडक सुचारु नहुँदा जनताले सास्ती भोग्नुपरेको बताइन्।

उनले तोकिएको समयमा सम्पन्न नभइ म्याद थपिएको मिति समेत सकिन लाग्दा पनि निर्माण सम्पन्न नभएको भन्दै सडक निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराइन्।  सडकमा रहेका खाल्डाखुल्टी र निर्माणाधिन पुलका कारण सो सडकखण्ड मृत्युमार्ग बनेको बताइन्।

‘घोराही तुलसीपुरको फोर लेन सडक अहिले पनि सुचारु भएको छैन । भारतीय कम्पनी र भारतीय ठेकेदारलाई दिएको, थपिएको म्याद पनि सकिन लाग्दा त्यो निर्माण हुन सकेको छैन । सडकमा रहेका खाल्डाखुल्टी र निर्माणाधिन अस्तव्यस्त पुलहरूको कारण दाङ घोराही मृत्युमार्ग बनिरहेको छ। दंगालीले कहिलेसम्म सास्ती भोग्नुपर्ने हो ? सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु’ उनले भनिनन्।

त्यस्तै, खिमलाल देवकोटाले फेवाताल परिवरीका ८० प्रतिशत घरहरू बिना स्वीकृति र मापदण्डविपरीत बनाइएकाले त्यस्ता घरहरूको नियमन गरी भत्काउन माग गरे। उनले अतिक्रमित पोखरा बसपार्कको जग्गा खालि गराई अत्याधुनिक बसपार्क निर्माण गर्नुपर्ने बताए।

‘फेवाताल वरिपरिका ८० प्रतिशत घरहरु अवैध छन् । कतिपयले बिना स्वीकृत आठ, नौ तलासम्म घर बनाएका छन् । त्यस्ता घरहरूको नियमन र फेवातालको मापदण्डमा परेका घरहरू भत्काइयोस्। यसैगरी अतिक्रमित पोखरा बसपार्कको जग्गा खाली गराई अत्याधुनिक बसपार्क निर्माण गरी पोखरालाई व्यवस्थित गराइयोस्’ उनले भने।

सांसद दिलकुमारी रावल थापाले प्रधानसेनापति अस्ट्रेलियामा भएको कार्यक्रममा सहभागि भएको सम्बन्धमा सरकारको जवाफ माग गरिन्। उनले कोभिड १९ को
संक्रमण बढिरहेकोतर्फ सरकारलाई सचेत गराइन्।

‘अस्ट्रेलियाको मेलर्वनमा भइरहेको आइपिएसको कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति सहभागी भएको भन्ने समाचार बाहिर आएको छ । कुरा के हो ? एकातिर आइपिएसको कार्यक्रममा सहभागि नहुने सरकारको निर्णय, अर्कोतिर सेनापति सहभागि हुने सरकारको दोहोरो नीति के हो ? म सरकारबाट स्पष्ट जवाफ चाहन्छु’ उनले भने, ‘कोभिड–१९ को नयाँ भेरियन्ट बढीरहेको सन्दर्भमा एकातिर स्वास्थ्य मापदण्ड कमजोर भइरहेको छ, अर्कोतिर भ्याक्सिन डेट स्पायर भइरहेको छ । यसतर्फ सरकार गम्भिर हुन म आग्रह गर्न चाहन्छु ।’

सांसद नन्दा चपाईंले सुर्खेत उपत्यकाको राजमार्ग आसपास र तल्लो तटीय क्षेत्रमा डुबानको जोखिम बढेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। उनले सो क्षेत्रको अध्ययन, अवलोकन गरी वर्षातको पानीलाई निकासको व्यवस्था गरिदिन सकार समक्ष माग गरिन्।

सांसद प्रकाश पन्थले एसइई परीक्षामा विद्यालयले मूल्यांकन गर्दा ४ जिपिए ल्याउने ९ हजार जनाभन्दा बढी र परीक्षा बोर्डले मूल्यांकन गर्दा ४२ जनाले मात्रै ल्याएको भन्दै बोर्डको नतिजा ठिक कि विद्यालयको नतिजा ठिक हो भन्नेमा छानबिन गर्नुपर्ने बताए। उनले परीक्षामा कमजोर ग्रेड ल्याउनेहरूलाई सरकारले अध्ययनबाहेक के अवसर दिने भन्ने प्रश्न गरे।

‘विद्यालयले मूल्यांकन गर्न जिपिए ४ ल्याउने ९ हजार बढी थिए । बोर्डले परीक्षा लिँदा ४२ जना मात्रै भए । किन यस्तो भयो ? कहाँ, किन र कसरी यो फरक परेको हो ? ४२ जनाले ल्याउने ठिक हो कि ९ हजार बढीले ल्याउने ठिक हो कि, विद्यालय ठिक हो कि, बोर्ड ठिक हो भन्ने कुराको छानबिन अनुसन्धान पनि होस्। राम्रो जिपिए र ग्रेड ल्याउनेहरूलाई हातमा सर्टिफिकेट र उच्च शिक्षाको अवसर छ’ उनले भने, ‘तर कमजोर ग्रेड ल्याउनेहरू लाखौँलाई हातमा के छ उनीहरुको लागि सरकारसँग ? बेरोजगार बढाउने हो कि ? पासपोर्ट थमाउने हो कि ? सिप, तालिम, प्रविधि के छ ? शिक्षा मन्त्रालयको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद महेशकुमार महराले राहदानी विभागमा पासपोर्ट बनाउन बिचौलियालाई घुस दिनुपर्ने अवस्था रहेको भन्दै सो अवस्था तत्काल रोक्न माग गरे। बिचौलियाको सेटिङमा काम गर्ने कर्मचारीलाई कारबाही गरी सेवाग्राहीलाई सरल ढंगले राहदानी उपलब्ध गराउन सरकारसँग माग गरे।

सांसद सिंहबहादुर विश्वकर्माले तातोपानी नाकामा जोडिएको कोदारी राजमार्ग वर्षातका कारण अवरुद्ध हुँदा आवतजावतमा समस्या भएको बताए। उनले  सवारीसाधन चल्न नसक्दा राजस्व संकलनमा समेत प्रभाव परेको बताए।

‘केही दिन यता उत्तरी तातोपानी नाकामा जोडिएको कोदारी राजमार्गको विभिन्न ठाउँहरूमा वर्षायामको कारणले पहिरो गइराखेको र सडक भासिएको कारण यातायात आवतजावत गर्न एकदम कठिनाई परिराखेको छ। राजश्व संकलनमा समेत प्रभाव परेको छ’ उनले भने, ‘दैनिक साढे २ करोड भन्दा बढी राजस्व संकलन हुने भन्सारमा अहिले मुस्किलले दैनिक ८० लाख रुपैयाँ मात्र संकलन हुन गइरराखेको छ। उक्त सम्बन्धमा सम्बन्धित निकायको बेलैमा ध्यान पुगोस्।’

उनले सो सडक खण्डलाई सहज रुपमा सञ्चालन गराउन सरकारको ध्यानाकर्षण गराए।