
कमल गिरी र उनकी आमा सुकी पुरी
नेपालको संविधान २०७२ को भाग २ मा नागरिकता सम्बन्धि व्यवस्था गरिएको छ । जसको धारा ११ मा नेपालको नागरिक ठहर्ने छ भन्ने व्यवस्था छ । जसको उपधारा ५ अनुसार ‘नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिने व्यवस्था गरिएको छ’ भनि प्रष्ट लेखिएको छ ।
यस्तै धारा ११ कै उपधारा २ को (ख) मा कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको आधारमा नेपालको नागरिक ठहर्नेछ भनी स्पष्ट व्यवस्था छ ।
तर वीरेन्द्रनगर नगरपालिका वडा.न. ८ मिल डाँडा सुर्खेतमा बस्दै आएका २४ वर्षीय कमल गिरीले भने संविधानमा व्यवस्था गरिएबमोजिम अधिकार प्राप्त गर्न सकेका छैनन् । उनी नेपाली आमाबाट जन्मिएका तर बाबुको पहिचान नभएका बालिग हुन् ।
व्यवहारत उनी नेपाली नागरिक भने हुन सकेका छैनन् । आमाको नागरिकता भएपनि बुवाको पहिचान हुन नसक्दा उनी नागरिकता बिहिन भएका हुन् ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले उनकी आमा सुकी पुरीलाई २०७६ चैत्र ४ गते वंशजको आधारमा नागरिकता प्रदान गरेको छ । तर सोही नागरिकताको आधारमा कमलले नागरिकता प्राप्त गर्न सकेका छैनन् । कारण उनका बुवाको पहिचान खुल्न सकेको छैन ।

‘आमालाई मानशिक समस्या छ’ कमलले भने “आमा अस्वस्थ हुँदा मेरो बुवा को हुनुहन्छ ? भन्ने कुरा थाहा पाउन सकिएन ।”
दुल्लु नगरपालिका ८ दैलेखबाट २०५९ सालमा कमलको परिवार मामाघरको हजुरआमाको साथमा वीरेन्द्रनगर झरेको हो । एक दिदि, एक बहिनी र कमल मामाघरको हजुरआमाको साहारामा वीरेन्द्रनगरमा बस्दै आएपनि हजुरआमाको मृत्युपछि कमलको परिवार साहारा बिहिन बनेको हो ।
कमल २४ वर्षका भए । नेपालमा १६ वर्षमा नागरिकता प्राप्त गर्ने कानुनी प्रावधान रहेको छ । तरपनि कमलले बुवाको पहिचान नभएकै कारण नागरिकता प्राप्त गर्न सकेका छैनन् । एकातिर आमा मानशिक समस्या अर्कोतिर नेपाली नागरिक समेत बन्न नपाउँदाको पिडा कमलले आँशुबाटै व्यक्त गरे ।
नेपालको संविधानले आमा नेपाली नागरिक भए वंशजको आधारमा नागरिकता दिने व्यवस्था गरेको भएपनि बाबुको पहिचान नभएका तर नेपालमै जन्मिएकाहरुले आमाको नामबाट नागरिकता प्राप्त गर्न भने सकेका छैनन् ।
गोठलाई घर बनाउने क्षमता छैन

ढोका खोल्दै सुकी
बसपार्क नजिकै मिलडाँडाको अव्यवस्थीत बस्ती । साना अस्थाई टहराहरुको बिचमा कमल भने गोठलाई घर मानेर बस्छन् । आधा जस्तापाता र आधा पाल तथा काठले बारेको सानो गोठ नै कमलका आमा–छोराको ओत लाग्ने ठाँउ हो ।
त्यो बाहेक शौचालय, खानेपानीको धारा लगाएत आधारभुत आवश्यकता परिपुर्ती गर्ने कुनै आधार कमलका लागि छैन ।
‘बिहानै उठेर बसपार्कमा शौचालय गर्न जानुपर्छ ’ उनले थपे“ कहिलेकाहीँ त पालो नपाएर शरीरमै दिशापिसाब भएको अनुभव पनि छ ।”
गोठै भएपनि नचुहिने र फराकिलो भए कमलको लागि त्यहि महल हुन्थ्यो तर भित्र छिर्नै धौ हुने र हिलो भएर बस्न नसकिने अवस्था भएको कमलले सुनाए ।
कमलका कयौं रातहरु भोकै बितेका छन् तर पनि कमलले घरको नत छानो फेर्न सकेका छन् नत घरलाई सुरक्षित नै बनाउन सकेका छन् । एकछाक टार्नलाई मानशिक रोगी आमाले मागेर ल्याउँछिन् त कहिलेकाहीँ कमलले मजदुरी गरेर छाक टार्ने बाहेकको अरु उपाय छैन ।
नागरिकता नहुँदा बेरोजगार
रोजगारी खोज्न गयो नागरिकता खोज्छन् । मजदुरी गरेर पेट पालौैं ढाड भाँचिएको छ । कमलका लागि जिवन धराप जस्तै बनेको छ । कहिलेकाहीँ त बाँच्नै पनि मन नलाग्ने कमल सुनाउँछन् ।
मध्यपश्चिम बिश्व विद्यालयको भवन बनाउँदा दुई तला भवनबाट खसेर कमल घाइते भएका हुन् । जसका कारण उनले भारी काम गर्न सक्दैनन् । अझै पुर्णरुपमा निको नभएका उनी खाली पेट बस्न नसिकने भएकै कारण सवारी साधन सफा गर्ने काम गरेर पेट पाल्दै आएका छन् ।
राम्रो रोजगारीको बाटो भने कमलका लागि नागरिकताले छेकेको छ । नागरिकताका लागि कमलले प्रशासन तथा वडा कार्यालय नधाएका होइनन् तर उनको सुनुवाई भने अझैसम्म पनि हुन सकेको छैन ।
मानशिक रोगी आमाको चिन्ता
सुकी (कमलकी आमा) मानशिक रोगी छन् । कहाँ जाने, कस्तो बोल्ने भन्ने उनले भेउ पाउँदिनन् । सुकी मानशिक रोगी हुन् भन्ने कुराको जानकारी नभएकाहरुले कुटेर घाइते पनि बनाउने गरेको कमल सुनाउँछन् ।
‘आमाको उपचार त गर्नै सकिएको छैन’ उनी भन्छन् “मेरो नागरिकता मात्रै भएको भए सबै समस्याको समाधान हुने थियो । ”
बिहानै घरबाट निस्किएकी आमा बेलुकी घर फर्किन्नन् की भन्ने चिन्ताले कमललाई धेरै पिरोल्छ ।
नागरिकता सम्बन्धि कानुन बने नागरिकता पाईन्छ : सिडियो
सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले नागरिकता सम्बन्धि कानुन निर्माण भएपछि मात्रै कमल जस्ता बुवाको पहिचान नभएकाहरुले नागरिकता प्राप्त गर्ने बताउँछन् । ‘संविधानमा मात्रै लेखेर हुँदैन’ उनले भने “ सम्बन्धित कानुन निर्माण बनेपछि यस्तो समस्याको समाधान हुन्छ ।”
संविधान के का लागि ? : मानवअधिकारकर्मी
संविधानमा लेखिएको कुरा नागरिकका लागि नगद जस्तै हुन् । जसलाई राज्यले अनिवार्य रुपमा कार्यान्वयन गर्नैपर्छ । संविधानमा लेखिएका कुराहरुलाई कार्यान्वयन गर्नका लागि कानुन निर्माण गर्ने कुरा अर्को पाटो होला तर पनि संविधानमा लेखिएको कुरा उधारो हुँदैन । समयमै कानुन निर्माण गरेर नागरिकलाई संविधान बमोजिम अधिकार दिनुपर्छ ।
यसै विषयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले समेत नेपालको संविधानमा लेखिएको कुरा उधारो नहुने बताए । ‘संविधानमा लेखेको कुराहरुलाई राज्यले कार्यान्वयन गर्नैपर्छ ।’ उनले भने“यदि संविधानमा लेखिएका कुरा कार्यान्वयन हुँदैनन् भने संविधान के का लागि ? उनले प्रश्न गरे ।
राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशका प्रमुख मान बहादुर कार्कीले सामान्यतया कुनैपनि नागरिकले नागरिकता प्राप्तीको अधिकारबाट बञ्चित हुन नुहने बताए ।
उनका अनुसार संविधानमा लेखिएको कुरा ऐन, नियम, कानुन निर्माण भएपछि मात्रै कार्यान्वयन हुने भएपनि ती कानुनहरु छिटोछरितो निर्माण गरेर भएपनि नागरिकलाई नागरिकता प्रदान गर्नुपर्छ ।

सीता वली ८ श्रावण २०७९, आईतवार १९:३५