कांग्रेसले समानुपातिक उम्मेदवारको बन्दसूची बुझायो


सुर्खेत । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूची बुझाएको छ । कांग्रेसले आज दिउँसो निर्वाचन आयोगमा बन्दसूची बुझाएको हो । यसअघि विभिन्न कारणले कांग्रेसले बन्दसूची बुझाउन ढिलो गरेको थियो । खसआर्यतर्फका तीन महिलामा कसलाई राख्ने भन्नेमा संस्थापन र इतरपक्षबीच विवाद हुँदा कांग्रेसले बन्दसूचीलाई अन्तिम रूप दिन लामो समय लगाएको हो । कांग्रेसले सूची संशोधन गरेर एक सय १० जनाको नाम बुझाएको हो ।

बन्दसूची पेश गर्ने पहिलो दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहेको छ भने अन्तिम दलमा नेपाली कांग्रेस छ ।

योसँगै आउँदो फागुन २१ गते तोकिएको चुनाव हुन्छ कि हुँदैन भन्ने अन्योल कम भएको छ । राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फको उम्मेदवार सूची बुझाएसँगै चुनावको सुनिश्चितता बढेको हो ।

राजनीतिक दलले पेश गरेका समानुपातिकतर्फको बन्दसूचीका बारेमा निर्वाचन आयोगले आजदेखि छानबिन थाल्दैछ । आयोगले यही २० गतेसम्म छानबिन गर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

आयोगले बन्दसूची छानबिन गरेपछि पुस २१ गतेदेखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ । पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्दसूची ठीक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ । माघ ४ गते बन्दसूची प्रकाशन गरिनेछ । माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने पनि प्रवक्ता भट्टराईले बताए । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिकतर्फ ६४ दलले बन्दसूची पेश गरेका छन् ।

यसैबीच निर्वाचन आयोगले आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको चुनावमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकेको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो ।