सभामुखमा एमालेका घिमिरेको उम्मेदवारी दर्ता


सुर्खेत । नेकपा एमालेका सांसद देवराज घिमिरेले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

आज बुधवार बिहान नयाँ बानेश्वरमा रहेको सङ्घीय संसद् भवनमा पुगेर सांसद घिमिरेले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । सत्तारूढ दलको साझा उम्मेदवार रहेका उनलाई एमाले उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङले सभामुख पदका लागि प्रस्ताव गरेका छन् भने माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले समर्थन गरेका हुन् ।

प्रतिनिधि सभाका सभामुखको चुनाव माघ ५ गते बिहीवार (भोलि) हुँदैछ । प्रतिनिधि सभा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एक महिला र फरक दलको हुनुपर्नेछ ।

विसं २०१३ मा ताप्लेजुङमा जन्मिएका घिमिरे २०५६ देखि २०६० सालसम्म राष्ट्रिय सभा सांसद थिए । उनी प्रतिनिधि सभा सदस्यमा झापा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । उनी एमालेको स्थायी समिति सदस्य हुन् ।