चीनको एकतामा बाधा पुग्ने गतिविधिप्रति हाम्रो विरोध रहन्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनको राष्ट्रिय एकताप्रति बाधा हुने कुनै पनि गतिविधिप्रति आफूहरुको विरोध रहने बताएका छन्।

सचिवालयमार्फत धारणा सार्वजनिक गर्दै प्रचण्डले ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। चीनको चर्को विरोधका बाबजुद दुई दिन अघि अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेकी थिइन्।

‘ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हाम्रो देश नेपाल र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एक चीन नीतिप्रति प्रष्ट छ।’ सचिवालयका तर्फबाट रमेश मल्लले फेसबुकमा लेखेका छन्, ‘चीनको राष्ट्रिय एकता प्रति बाधा हुने कुनै पनि गतिविधिप्रति हाम्रो विरोध रहन्छ।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड आज शुक्रबार राति जापान जाँदैछन्।