घानामा हेलिकोप्टर दुर्घटना  :  रक्षा र वातावरणमन्त्रीसहित आठ जनाको मृत्यु

सुर्खेत । घानाको अशान्ति क्षेत्रमा हिजो भएको सैन्य हेलिकोप्टर दुर्घटनामा रक्षामन्त्री र वातावरण मन्त्रीसहित आठ जनाको मृत्यु भएको छ ।

यो पछिल्लो दशकयताकै घानामा भएको सबैभन्दा ठूलो हवाई दुर्घटनामध्ये एक मानिएको समाचारसंस्था एपीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरूमा रक्षामन्त्री एडवार्ड ओमाने बोआमह, वातावरणमन्त्री इब्राहिम मुर्तला मोहम्मद, सत्तारूढ नेशनल डेमोक्रेटिक कंग्रेसका उपाध्यक्ष सामुएल सर्पोङ, राष्ट्रिय सुरक्षा सल्लाहकार मुनीरु मोहम्मद, र चार जना चालक दलका सदस्य रहेका छन् ।

हेलिकोप्टर राजधानी आक्राबाट बिहान सुनखनन क्षेत्र ओबुआसीतर्फ जाँदै गर्दा रडारबाट सम्पर्कविहीन भएको थियो। केही घण्टापछि त्यसको भग्नावशेष अदांसी, अशान्ति क्षेत्रमा फेला परेको समाचारमा जनाइएको छ ।

सरकारले यो दुर्घटनालाई ‘राष्ट्रिय शोक’ को संज्ञा दिएको छ । मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न रक्षामन्त्री बोआमहको निवास र पार्टी मुख्यालयमा शोकसन्तप्तहरूको भीड लागेको छ ।

घटनास्थलको भीडीओमा जङ्गलमा जलिरहेको हेलिकोप्टरको टुक्रा देखिन्छ । त्यहाँ स्थानीयहरू उद्धारका लागि प्रयासरत देखिन्छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन ।