आफू समर्थित विद्रोहीको पकड रहेका दुई युक्रेनी क्षेत्रलाई रुसद्वारा ‘स्वतन्त्र राज्य’को मान्यता

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी भागमा रहेका दुई वटा क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने बताउनुभएको छ ।

स्वघोषित जनगणतन्त्र डोनेट्स्क र लुहान्सक रुसले समर्थन गरेका विद्रोहीको पकड क्षेत्र हुन् । उनीहरूले युक्रेनको सैन्य बलसँग सन् २०१४ देखि लडिरहेका छन् । रुसको पछिल्लो कदमले यी क्षेत्रमा शान्ति वार्ता समाप्त हुने सम्भावना देखिएको बीबीसीले जनाएको छ ।

युक्रेनको पूर्वी क्षेत्रमा रुसी सेना प्रवेश गर्नका लागि आधार तय गर्न सक्ने विषयबारे पश्चिमा देश समेत चिन्तित बनेका छन् । घोषणा लगत्तै पुटिनले एउटा आदेशमा हस्ताक्षर गर्नुभएको छ । जसमा रुसी सेनाले दुवै क्षेत्रमा शान्ति स्थापनाका लागि भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ । पुटिनले डोनेट्स्क र लुहान्सक प्राचीन रुसी क्षेत्र रहेको उल्लेख गर्नुभएको छ । साथै उहाँले पश्चिमा देशहरु र नेटोको चर्को आलोचना गर्नुभएको छ ।

रुसी राष्ट्रपतिको पछिल्लो घोषणाको अन्तर्राष्ट्रिय रूपमा निन्दा भइरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनबाट छुट्टिन चाहेका क्षेत्रका मानिसलाई लक्षित गरी प्रतिबन्ध लगाउने आदेश जारी गर्ने ह्वाइट हाउसले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियाे गुटरेस र युरोपेली सङ्घले रुसी कदमले अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन गरेको बताएका छन् ।