
सुर्खेत । २१ वर्षीय लक्ष्मी बुढाक्षेत्री आजै महिनावारी भएकी रहिछन् । बराहताल गाउँपालिका वडा नं ६ बिउरेनी सुर्खेतकी लक्ष्मीका श्रीमान् भने धामी रहेछन् । घरको पछाडिपट्टी ढोका नभएको चिसो कोठामा सुत्ने तयारी गरेकी लक्ष्मीको आगनमा अचानक प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पुगे ।
प्रमुख जिल्ला अधिकारी रिजालले लक्ष्मीका श्रीमान्लाई छाउगोठ भए–नभएको सोधे । तर उनले आँफुहरुले छाउगोठ भत्काएर घरकै एउटा कोठमा सुत्ने गरेको जवाफ दिए ।
२०७६ सालमा छाउगोठ भत्काउन लक्ष्मीकै घरमा सिडियो सहितको टोली पुगेको थियो । पुरानो अभिलेख हातमा बोकेर छाउगोठ अनुगमनका लागि गएको सिडियो सहितको टोलीले उनका श्रीमान् टोपबहादुर बुढाक्षेत्रीलाई बोलायो ।
महिनावारी भएको समयमा घरमै सुत्ने गरेको भन्दै टोपबहादुरले महिनावारी भएकी महिला सुत्ने (छुईकोठा) देखाउन लगे । तर उक्त कोठा खोर भन्दा कम थिएन । ढोका नभएको उक्त कोठा चिसो मात्रै थिएन साँघुरो र फोहोर पनि थियो ।
कोठा सानो र फोहोर भन्दा पनि ढोका नै नभएपछि असुरक्षा हुने भन्दै प्रमुख जिल्ला अधिकारी रिजालले लक्ष्मीका श्रीमान्लाई सोधिहाले, धामीभाई छाउगोठको ढोका किन हालिदैन ? सिडियोको यो प्रश्नले लक्ष्मीका श्रीमान् नाजवाफ भए ।

प्रमुख जिल्ला अधिकारी रिजालले लक्ष्मीको घरमा मात्रै नभई प्राय महिनावारी भएको समयमा सुत्ने कोठाका ढोका नभएको देखेपछि यो प्रश्न गर्न बाध्य भएको सुनाए ।
लक्ष्मीले भने आजै ढोका बनाउला भन्ने श्रीमान्–श्रीमतीको सल्लाह भएको थियो, तपाईहरु आइहाल्नुभयो भन्दै कुरा टारिन् । संधै बस्नुनपर्ने भएकोले ढोका हाल्नु जरुरी नभएको लक्ष्मीले सुनाईन् ।
सामाजिक विकास मन्त्रालय सामाजिक सुरक्षा तथा महिला विकास शाखा प्रमुख अनिता ज्ञवाली, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्ती , सुन्दर नेपाल संस्था, आवाज संस्था लगाएतको टिम छाउगोठ अनुगमनको लागि दुईवटा स्थानिय तह पुगेको हो ।
शुक्रबार बराहताल गाउपालिका ६ र पञ्चपुरी नगरपालिका ३ का केहि स्थानमा छाउगोठको अवस्था अनुगमन गरिएको हो ।
अनुगमनपछि आयोजना गरिएको अन्तर्रक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रिजालले पहिलेको तुलनामा केहि सुधार आएको बताए । उनले छाउगोठबाट महिलाहरुलाई घरसम्म लैजानको लागि छाउगोठ भत्काउने अभियानले ठुलो भुमीका खेलेको बताए । सम्बन्धित स्थानिय तहले सचेतनामुलक कार्यक्रममा निरन्तर ध्यान दिनुपर्ने धारणा राखे ।

सामाजिक विकास मन्त्रालय सामाजिक सुरक्षा तथा महिला विकास शाखा प्रमुख अनिता ज्ञवालीले प्राकृतिक प्रक्रियालाई छुईसंग जोडेर कुरिती जन्माइएको बताईन् ।
कार्यक्रममा स्थानिय नागरिक, स्वास्थ्यकर्मी, जनप्रतिनिधी, पत्रकार लगाएतको सहभागीता रहेको थियो ।

फरकबाटो २४ मंसिर २०७८, शुक्रबार २३:०८