नागरिकका गुनासो सुन्न “नमस्ते गुराँस”  शुरु


सुर्खेत । गुराँस गाउँपालिकाले गुनासो व्यवस्थापन प्रणाली “नमस्ते गुराँस” शुरु गरेको छ । कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहमध्ये यो प्रणाली सुरु गर्ने गुराँस गाउँपालिका पहिलो हो । संस्थागत सुधार मार्फत् न्यायमा पहुँच अभिवृद्धि परियोजनाको प्राविधिक सहयोगमा गुनासो व्यवस्थापन प्रणाली शुरु गरिएको हो ।

संघीय सरकारमा “हेलो सरकार” र प्रदेश सरकारहरूमा “हेलो मुख्यमन्त्री”, “हाम्रा कुरा हाम्रा मुख्यमन्त्री” जस्ता नामबाट सञ्चालनमा रहेको गुनासो व्यवस्थापन प्रणाली स्थानीय तहतर्फ देशभरको तेस्रो र कर्णाली प्रदेशको पहिलो पालिकाको रुपमा गुराँसमा सञ्चालन भएको गुराँस गाउँपालिका सरकारका प्रवक्ता दीपेन्द्र ओलीले बताएका छन् ।

यसअघि कैलालीको धनगढी उपमहा नगरपालिका र पाल्पाको रामपुर नगरपालिकामा गुनासो व्यवस्थापन प्रणाली सञ्चालनमा छन् ।

आम नागरिकका गुनासो सफ्टवयरमार्फत् ग्रहण गर्ने र सो को व्यवस्थापन गर्नेगरी “नमस्ते गुराँस” शुरु भएको हो । सो कार्यक्रमअन्तर्गत नागरिकले व्यक्त गरेको गुनासोलाई सम्बन्धित समिति र शाखा जिम्मेवार रहने गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले जानकारी दिए ।

सार्वजनिक निकायले वितरण गर्ने सेवा सुविधामा भेदभाव भएको वा वञ्चित गरिएको, सार्वजनिक निकायहरूबाट प्रदान गरिने सेवा सुविधा प्राप्त गर्न अवरोध वा बाधा पुगेको र सार्वजनिक निकायको गैर कानुनी क्रियाकलापबाट कुनै पनि संस्था वा व्यक्तिलाई हानी–नोक्सानी भएका जस्ता सवालहरू, जनताका गुनासा र सुझावहरूको उचित सुनुवाइद्वारा शासकीय व्यवस्थामा सुधार गरी नागरिकमुखी प्रशासन व्यवस्था प्रवर्द्धन गर्न “नमस्ते गुराँस” शुरु भएको हो ।

घटना÷दुर्घटनाको बारेमा जानकारी दिन, उद्धारको लागि सहायता माग गर्न, लैङ्गिक हिंसाको घटनाको बारेमा सूचना दिन, सार्वजनिक सेवाको विषयमा गुनासा वा सुझाव दर्ता गराउन र सार्वजनिक सेवा प्रवाहमा देखिएका विकृति, विसङ्गति र अनियमितताका बारेमा उजुरी दिन सकिने व्यवस्था गरिएको छ । स्थानीय तहमात्रै नभई संघीय र प्रदेश सरकार मातहतका कार्यालयसँग सम्बन्धित सुझाव र गुनासो समेत “नमस्ते गुराँस” बाट गर्न सकिन्छ ।

फोन, मोबाइल, वेवसाइट, सामाजिक सञ्जाल, इमेल र आफैँ उपस्थित भएर समेत गुनासो, सुझाव तथा उजुरी दर्ता गर्न सकिने व्यवस्था मिलाइएको छ । जसमा अडियो, भिडियो, फोटो, फाइललगायतलाई प्रमाणको रुपमा रहने छन् भने उजुरीकर्ताले चाहेमा परिचय गोप्य राख्न सकिने छ ।

उक्त प्रणाली लैगिंक समानता तथा सामाजिक समावेशीरकण मैत्री समेत रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश दाहालले जानकारी दिए । “नमस्ते गुराँस” मा दृष्टिविहिन समुदायहरुले समेत गुनासो गर्न सकिनेगरी प्रणालीको निर्माण गरिएको दाहालले बताए ।

यस्तै यसै प्रणालीको विषयमा जनप्रतिनिधि तथा शाखा प्रमुखहरुलाई अनुशिक्षण समेत गरिएको छ ।