नेपालमा यूएसएडका ९५ अर्बका कार्यक्रम रोकिँदा स्वास्थ्य, शिक्षा र कृषि प्रभावित

सुर्खेत । तीन महिनालाई अनुदान रोक्ने अमेरिकी विदेशमन्त्री मार्को रुबियोको निर्णयले नेपालमा करिब ९५ अर्ब रुपैयाँका कार्यक्रम प्रभावित हुने भएका छन् ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएड) र विदेश मन्त्रालयका अनुदानका कार्यक्रमका लागि करिब ६९ करोड ५० लाख अमेरिकी डलर (९५ अर्ब रुपैयाँ) बराबर सम्झौता भएको अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखाका उपसचिव डोलिन्द्र शर्माले जानकारी दिए ।

त्यसरी भएको सम्झौतामध्ये गत आर्थिक वर्ष २०८०र८१ अन्त्य (असार मसान्त) सम्म ४० करोड ७ लाख डलर बराबर कार्यक्रम कार्यान्वयन नै सुरु भइसकेको उनले बताए ।

५ मे २०२२ मा भएको सम्झौता अनुसार यूएसएडले नेपाललाई पाँच वर्ष अवधिमा ६५ करोड ९० लाख डलर सहयोग उपलब्ध गराउनुपर्ने थियो । तर, त्यसमध्ये कति खर्च भइसकेको र कति आउन बाँकी रहेको भन्ने यकिन तथ्यांक भने सरकारी निकायहरूसँग छैन ।

यसरी सम्झौता भएका र कार्यान्वयन सुरु भएका कार्यक्रमहरूको विभिन्न वर्षमा खर्चको दायित्व सिर्जना हुने र खर्च हुने हुन्छ । त्यस अनुसार गत वर्ष सन् २०२४ मा यूएसएड र अमेरिकी विदेश मन्त्रालयको अनुदानमा सञ्चालित कार्यक्रमहरूमा १९ करोड २६ लाख डलर (२६ अर्ब ३९ करोड रुपैयाँ) बराबर खर्च भएको अमेरिकी वैदेशिक सहयोग सम्बन्धी तथ्यांक राख्ने निकाय फरेन असिस्टेन्स डट जीओभीको तथ्यांक छ ।

साभार : अनलाइन खबर