
सुर्खेत । समाचार लेखेकै कारण पत्रकार पंखबहादुर शाहीलाई ज्यान मार्ने धम्की आएको छ । सुर्खेतबाट रातोपाटी अनलाइनमा कार्यरत पत्रकार पंखबहादुर शाहीलाई समाचार लेखेकै कारण ज्यान मार्ने धम्की आएको हो ।
वीरेन्द्रचोकमा स्व: राजा वीरेन्द्र शाहको सालिक राखेको समाचार लेखेको विषयलाई लिएर उनी माथि धम्की आएको हो । पत्रकार शाहीलाई धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ सुर्खेतले गम्भिर ध्यानाकर्षण जनाएको छ । शनिबार प्रेस विज्ञप्तिमार्फत पत्रकार शाहीलाई राजकुमार शाही, भरत शाही ठकुरी र टिजंग शाही लगायतले धम्की दिएको भन्दै महासंघले कारबाही गर्न माग गरेको छ ।
पत्रकारले लेखेको समाचार चित्त नबुझे त्यसको खण्डन गर्ने र त्यसविरुद्ध कानुनी उपचार खोज्ने प्रावधान हुँदाहुँदै धम्की दिनु लोकत्रान्तिक शासन व्यवस्थामा प्रेस स्वतन्त्रता विरोधी कार्य भएको महासंघको ठहर छ । घटनामा संलग्न माथि आवश्यक कार्वाही र पत्रकार शाहीको सुरक्षाप्रति संवेदनशिल बन्न स्थानीय प्रशासन तथा सुरक्षा नियकायलाई आग्रह गरेको छ ।
साथै आगामी दिनमा पत्रकारहरुलाई स्वतन्त्रतापूर्वक, भयरहित र सुरक्षित रुपमा कलम चलाउने वातावरण माथि कुनै पनि आँच आउने गतिविधि नगर्न र प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्न सबैमा महासंघले अपिल गरेको छ ।


फरकबाटो १७ पुष २०७८, शनिबार १९:३४