बाबुराम भट्टराईको पार्टीमा विभाजन : अध्यक्ष यादव पक्षले माओवादीसँग एकता गर्ने


सुर्खेत । जनता समाजवादी पार्टीबाट छुट्टिएपछि डा बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी (नेसपा) विभाजित भएको छ । पार्टीका अध्यक्ष महिन्द्र राय यादव समूहले पार्टी फुटाएर नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको छ ।

डा।बाबुराम भट्टराईलाई पनि सहभागी गराउने प्रयास असफल भएपछि नेसपा फुटाएर महिन्द्र रायले माओवादीसँग एकता गर्ने सहमति गरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्नेसहित चार बुँदे सहमति गरेको छ ।

सहमति पत्रमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र नेसपाका महासचिव रमेशप्रसाद यादवले हस्ताक्षर गरेका छन् । बैठकले एकीकृत पार्टीको नाम आउँदो महाधिवेशनबाट टुङ्गो लगाउने निर्णय गरेको छ । साथै, पार्टी एकताका लागि वैचारिक एकरुपता र सङ्गठनात्मक तयारीका लागि कार्यदल पनि गठन गरेको छ ।

कार्यदलमा माओवादीको तर्फबाट महासचिव गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहेका छन् ।