कोशी प्रदेशको मुख्यमन्त्रीका लागि आगामी मङ्गलवार बेलुका पाँच बजेभित्र दाबी पेस गर्न आह्वान


सुर्खेत । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि आगामी मङ्गलवार बेलुका पाँच बजेभित्र दाबी पेस गर्न आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले आगामी १६ गते बेलुका पाँच बजेभित्र संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।

कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले निकालेको विज्ञप्तिमा सर्वोच्च अदालतको आदेश बमोजिम जुन बिन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटि भएको हो त्यही अवस्थाबाट प्रक्रिया अघि बढाउन लागिएको उल्लेख छ ।

सर्वोच्च अदालतले बिहीवार मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गर्नुका साथै संविधानको धारा १६८ (२) अनुसार १७ गते भित्र मुख्यमन्त्री नियुक्त गरिसक्न परमादेश दिएको थियो ।