लेखा परीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगले जरिबाना तोक्यो


सुर्खेत । निर्वाचन आयोगले समयमा लेखा परीक्षण प्रतिवेदन नबुझाउने विभिन्न राजनीतिक दलहरूलाई जरिबानासहित कारबाही गर्ने भएको छ । आयोगले नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नेपाल सुशासन पार्टीलाई जरिबाना तोकेको हो ।

त्यस्तै आयोगले समयमा लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्न भन्दै नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चालगायत दलहरूलाई सचेत गराएको छ ।

आज सोमवारको बैठकले ३९ वटा दललाई जनही सात हजार रुपैयाँ जरिबाना गर्दै सात दिनभित्र लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेर पेस गर्न निर्देशन दिएको आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

अहिलेसम्म ८२ वटा दलले खर्चको आय–व्यय निर्धारित समयभित्रै पेस गरेका छन् । त्यसैगरी १२ वटा राजनीतिक दलले तोकिएको समयसीमाभन्दा ढिलो गरी लेखा परीक्षण प्रतिवेदन पेस गरेको आयोगले जनाएको छ ।

आर्थिक वर्ष २०७७र७८ र २०७९र८० को लेखा परीक्षण पेस नगर्ने मुस्कान सेना नेपाल र शिव सेना नेपाललाई जनही १५ हजार रुपैयाँ जरिबाना गर्ने निर्णय भएको छ । त्यसैगरी दुई वटा आर्थिक वर्षमा लेखा परीक्षण पेस नगर्ने दललाई स्पष्टीकरण सोध्दा त्यसको जवाफ समयभित्र नदिने दललाई जनही २० हजार रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको छ ।

यसैगरी गत वर्षको लेखा परीक्षण पेस नगर्ने १६ वटा राजनीतिक दललाई स्पष्टीकरण सोधेकोमा चित्तबुझ्दो जवाफ नदिने पार्टीलाई १० हजार रुपैयाँ जरिबाना गर्ने आयोगले जनाएको छ । आयोगले तोकेको जरिबानाबापतको रकम ३५ दिनभित्र दाखिला गर्न निर्देशन दिएको छ ।