सुर्खेत । कर्णाली प्रदेश सरकारले मुगुका आगलागी पीडितका लागि राहतको प्याकेज ल्याएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले क्षतिको आधारमा राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
गएको कात्तिक २९ गते मुगुको गमगढी बजारमा आगलागी भएको थियो । बैठकले ६१ लाख ८५ हजार रुपैयाँ राहत उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय मुगुलाई निकासाका लागि स्वीकृत दिएको छ ।
प्रदेश सरकारले आगलागी पीडितलाई क्षतिको आधारमा २० हजारदेखि चार लाख रुपैयाँसम्म सम्म राहत उपलब्ध गराउने भएको हो । ८६ परिवारलाई क्षतिको आधारमा रातह उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले जानकारी दिए ।
आगलागीबाट पूर्ण क्षति भएका २० , आंशिक क्षति भएका पाँच घर, व्यवसायीमा क्षति भएका २६ जना र घरभाडामा बस्ने २५ परिवारलाई राहत उपलब्ध गराउने उनले बताए ।
उनका अनुसार पूर्ण क्षति अन्र्तगत १० लाखसम्म क्षति भएकालाई एक लाख, दश लाखदेखि ५० लाखसम्म क्षति भएकालाई एक लाख ५० हजार, ५१ लाखदेखि एक करोडसम्म क्षति भएकालाई दुई लाख र एक करोडदेखि एक करोड ५० लाखसम्म क्षति भएकालाई दुई लाख ५० हजार रुपैयाँ राहत उपलब्ध गराइने छ। डेढ करोडदेखि तीन करोडसम्म क्षति भएकालाई तीन लाख ५० हजार रुपैयाँ राहत उपलब्ध गराइने छ । तीन करोड भन्दा माथि क्षति भएकालाई चार लाख रुपैयाँ राहत उपलब्ध गराउने छ ।
यस्तैआंशिक क्षति भएका घर अन्र्तगत एक लाख क्षति भएकालाई २५ हजार, २७ लाखदेखि ५० लाखसम्म क्षति भएकालाई ५० हजार र ५० लाख वा सो भन्दा बढी क्षति भएकालाई ७५ हजार रुपैयाँ उपलब्ध गराइने छ ।
यस्तै क्षति भएका व्यवसायीहरुलाई २० लाखसम्म क्षति भएकालाई तीस हजार, २१ लाखदेखि ४५ लाखसम्म क्षति भएकालाई ५० हजार , ४६ लाखदेखि ७० लाखसम्म क्षति भएकालाई ७५ हजार र एक करोड वा सो भन्दा बढी क्षति भएकालाई एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
यस्तै सरकारले भाडामा बसेका परिवारलाई १० लाखसम्म क्षति भएकालाई २० हजार, २० लाखदेखि २५ लाखसम्म क्षति भएकालाई ४० हजार र ५० लाख भन्दा माथि क्षति भएकालाई ६० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
फरकबाटो २३ मंसिर २०७८, बिहीबार १७:३९