हरियाली र जिविकोपार्जनका लागि बृक्षारोपण

सुर्खेत । वीरेन्द्रनगरमा हरियाली र जिविकोपार्जनको लागि बृक्षारोपण कार्यक्रम सुरु गरिएको छ । अन्तरनिर्भर समाज सुर्खेतको समन्वय तथा युएसएआईडिको तयार नेपाल परियोजनाको आर्थिक सहयोगमा बृक्षारोपण कार्यक्रम सुरु गरिएको हो ।

यो कार्यक्रमका लागि वीरेन्द्रनगर नगरपालिकाले समेत सहयोग गरेको छ ।

हरियालीसंगै हर्वल तथा फलफुलजन्य विरुवाहरु रोपी बेरोजगारहरुलाई रोजगारी समेत दिने उदेश्यले यो कार्यक्रम सुरु गरिएको हो ।

आइतबार वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले वीरेन्द्रनगर ७ को कालिञ्चौक खेलकुद मैदान नजिकै विरुवा रोपी कार्यक्रमको उद्घाटन गरेका हुन् ।

आँप, निम,जामुन, अम्बा, तेजपत्ता लगाएतका विरुवाहरु रोपिएको हो । अन्तरनिर्भर समाज सुर्खेतका कार्यकारी व्यवस्थापक विवेककुमार शाहीले तत्काल वीरेन्द्रनगरका ६,७ र ८ नं वडामा विरुवाहरु रोप्ने योजना भएको बताए ।

कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले वीरेन्द्रनगरलाई सुन्दर र हरियाली बनाउनका लागि नगरपालिकाले करोडौं रकम खर्चिएको र अन्य निकायहरुसंग समेत समन्वय गरेको बताए । उनले आफ्नो कार्यकाल सकिएको भन्दै पदमा नरहेपनि वीरेन्द्रनगरलाई हरियाली र सुन्दर नगर बनाउनका लागि संधै सल्लाह र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

बृक्षारोपण उद्घाटन कार्यक्रममा विभिन्न संघसंस्था, टोलविकास संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।