अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनमा भोलि पोखरामा सार्वजनिक बिदा, साँझ दीपावली मनाइने


सुर्खेत । पोखरामा निर्माण सकिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भोलि हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थल उद्घाटन गर्ने तय भएको छ ।

विमानस्थलको उद्घाटनका अवसरमा आइतबार पोखरा महानगरपालिकामा सार्वजनिक बिदा दिएको हो । महानगरले आज एक सूचना जारी गरी महानगरपालिका कार्यालय महाशाखा, शाखा ३३ वटै वडा कार्यालय तथा मातहतका सबै विद्यालय तथा शैक्षिक सङ्घ संस्था बन्द हुने जनाएको छ ।

महानगरले निजी क्षेत्रलाई बिदा दिएर उत्सवमा सहभागी हुन आग्रह गर्दै साँझ घरघरमा दीपावली गर्नका लागि महानगरवासीमा अनुरोध समेत गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार उद्घाटनको सबै तयारी पूरा भएको छ । तर विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भने तत्काल नहुने भएको छ । बुद्ध एअरले १ महिना अघिदेखि अन्तर्राष्ट्रिय उडानको अनुमति मागे पनि पाएको छैन । अन्तर्राष्ट्रिय कम्पनीहरूले पनि पहिलो उडानको लागि चासो देखाए पनि सबै प्रक्रिया पुर्‍याएर केही महिनाभित्र उडान हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिए ।

चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो ।