रास्वपाले उपचुनावमा गठबन्धन नगर्ने, ३ वटै क्षेत्रमा उम्मेदवारी दिने


सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० गते हुन लागेको उपचुनावमा तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

पार्टीको आज शुक्रवार बसेको केन्द्रीय समितिको बैठकले तनहुँ १, चितवन २ र बारा २ मा उम्मेदवारी दिने निर्णय गरेको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । उनले भने, ‘तीन वटै निर्वाचन क्षेत्रमा गठबन्धनविना उम्मेदवारी दिने निर्णय भएको छ ।’

बैठकले निर्वाचन क्षेत्रको संयोजकसमेत तोकेको छ । चितवन–२ मा उपसभापति डोलप्रसाद अर्याल, तनहुँ–१ मा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र बारा–२ मा केन्द्रीय सदस्य गणेश कार्की संयोजक तोकिएका हुन् ।

बैठकमा पार्टीको विभागीय जिम्मेवारी बाँडफाँटका विषयमासमेत छलफल भएको उपसभापति अर्यालले बताएका छन् ।