दैलेखमा चट्याङ लागेर एक जनाको ज्यानको मृत्यु, १६ जना घाइते


सुर्खेत । दैलेखमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । हिजोराती चट्याङ लागेर महाबु गाउँपालिका १ खरिगैराकी ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यृ भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

घरमै भान्साको काम गरिरहेको बेला चट्याङ लागेर घाइते भएकी खत्रीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते भएका १६ जना आआफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेर घाइते भएका हुन् ।

उनीहरुको दैलेख अस्पतालमा प्राथमिक उपचारपछि गम्भीर घाइते आठ जनालाई कर्णाली प्रदेश अस्पतालमा पठाइएको र एक जनाको दैलेख अस्पतालमा उपचार चलिरहेको जनाइएको छ । पाँच जना भने उपचारपछि घर फर्किएका छन् ।

यस्तै, डुङ्गेश्वर गाउँपालिका–६ लटाली गाउँमा चट्याङ लागेर गम्भीर घाइते भएकी २६ वर्षीया रेखा बुढालाई कर्णाली प्रदेश अस्पताल लगिएको प्रहरीले जनाएको छ ।