कर्णाली प्रदेशमा मुख्यमन्त्री राजकुमार शर्माले दिए राजीनामा  : यामलाल कँडेलका लागि बाटो खुल्ला


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन् । शर्माले पदबाट राजीनामा दिएसँगै यामलाल कँडेलको मुख्यमन्त्री हुने बाटो खुलेको छ ।

आज  प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा घोषणा गरेका हुन् । संसद बैठकलाई सम्बोधन गरेर राजीनामा दिएका मुख्यमन्त्रीले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाउने छन् ।

यसअघि मुख्यमन्त्री शर्माले मंगलबार संसदबाट विश्वासको मत लिने तयारी गरेका थिए । तर, केन्द्रमा सत्तागठबन्धन दलहरूबीच भएको सहमतिअनुसार कर्णाली प्रदेश एमालेको भागमा परेपछि उनले विश्वासको मतको कार्यक्रम एक दिन पछि सारेका थिए ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनविपरित विश्वासको मत लिने अडानमा रहेका मुख्यमन्त्री शर्मा अन्ततः राजीनामा दिन बाध्य भएका हुन् ।