आफ्नो अधिकार खोज्दै वीरेन्द्रनगर नगरपालिकाका बालबालिका

सुर्खेत । ५८ औं राष्ट्रिय बाल दिवसको अवसर पारी आफ्नो अधिकार खोज्दै वीरेन्द्रनगर नगरपालिकाका बालबालिकाले विविध साँस्कृतिक एवम् सरकारवाला सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।

नेपाल नाजरेत सोसाइटी नवज्योती केन्द्र सुर्खेतको आयोजनामा एइआईएन लाजमबर्गको आर्थिक सहयोग र नवज्योती युवा तथा बाल सञ्जाल, एआईएन वीरेन्द्रनगर युथ नेटवर्कको समन्वयमा आयोजित राष्ट्रिय बाल दिवसको अवसरमा सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर नगरपालिका, युनिसेफ नेपाल र आवाज संस्था विभिन्न बाल क्लवका बालबालिकाको सहभागिता रहेको थियो ।

श्री नगर बाल क्लवका निकेश कसेराले वीरेन्द्रनगर नगरपालिका बाल कल्याण अधिकारी सरला रेग्मीलाई नगर र वडास्तरीय युवा सञ्जाल गठन हुनु तर बाल सञ्जाल गठन किन हुन नसकेको भन्दै प्रश्न गरेका थिए । स्थानीय तहको चिन्ताको विषय बालबालिकालाई राख्नु पर्ने उनको भनाई थियो ।

वीरेन्द्रनगर नगरपालिकाका बाल कल्याण अधिकारी सरला रेग्मीले वीरेन्द्रनगर नगरपालिकाले बालबालिकाको क्षेत्रमा छुट्याएको रकम बमोजिम आफुले काम गरेको बताइन् । विशेष गरी बालबालिकालाई फोकस गरेको बाल क्लवहरुको गठन पनि छिट्टै गर्ने उनले प्रतिवद्धता जनाइन् ।

यस्तै बाल क्लवका अर्का सहभागिले प्रदेशमा मानव बेचबिखन र बाल श्रम बढिरहेका बताएका छन् । यसको न्युनिकरणका लागि सामाजिक विकास मन्त्रालयले कस्ता योजना बनाएको काम गरेको छ भन्दै प्रश्न गरे ।

सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीले मानव बेचबिखनमा पहिलो दायित्व भनेको परिवारको रहने बताइन् । हामीले मानव बेचविखन सम्बन्धि र बाल श्रम अन्त्यको लागि विभिन्न सम्बन्धित संस्थासँग समन्वय गरेर उनीहरुको तथ्याङ्क सङ्कलन गरेर काम गरिरहेका छौ ।
आवाज संस्थाका प्रतिनिधि निशा पौडेलले बालबालिकाको क्षेत्रमा आफ्नो संस्थाले धेरै काम गरेको बताइन् । जोखिममा परेका बालबालिकाको उद्धार पनि गर्ने र बालबालिकाका सहजताको लागि बाल हेल्पलाईन १०९८ सञ्चालन गरेको उनको भनाई छ ।