आचरण विपरीत काम गर्ने दुई जना सशस्त्र प्रहरी नायब निरीक्षक निलम्बित


सुर्खेत । आचरण विपरीत काम गर्ने दुई जना सशस्त्र प्रहरी नायब निरीक्षकलाई निलम्बन गरी विभागीय कारबाहीको प्रक्रिया अगाडि बढेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर–२८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बीओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक कृष्णबहादुर मगरलाई निलम्बन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्र प्रहरी नायब निरीक्षक गोविन्द सुवेदीले कात्तिक ४ गते निर्वाचन सुरक्षा वेश स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीलाई पुर्याइ कार्यालय फर्कने क्रममा गाडी दुर्घटना भएको थियो । सुवेदीले दिएको जिम्मेवारी सही ढङ्गले निर्वाह नगर्दा दुर्घटना भएको र कारबाहीको प्रक्रिया अगाडि बढेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी चढेको ट्रक दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका थिए । त्यस्तै, असोज २० गते भारतीय भूमिमा मृत्त अवस्थामा फेला परेका सशस्त्र प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवको घटनामा प्रारम्भिक छानबिन गर्दा विभागीय नीति तथा आदेश विपरीत काम गरेको देखिएकाले सशस्त्र प्रहरी नायब निरीक्षक कृष्ण बहादुर मगरलाई पनि निलम्बन गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।