सुर्खेत । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सुपर सिक्समा आज वेस्टइन्डिज र स्कटल्याण्ड खेल्दैछन् । खेल जिम्बावेको हरारेमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ ।
वेस्टइन्डिज दुईपटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्वकप च्याम्पियन हो । तर वेस्टइन्डिज आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकपमा नपुग्ने उच्च सम्भावना छ । समूह चरणको अन्तिम खेलमा वेस्टइन्डिज सुपर ओभरमा नेदरल्यान्ड्ससँग पराजित भएपछि विश्वकप यात्रा निकै कठिन बनेको हो ।
वेस्टइन्डिजले समूह चरणमा नेपाल र अमेरिकालाई हराएको थियो भने जिम्बावे र नेदरल्यान्ड्ससँग पराजित भएको हो । वेस्टइन्डिजले हराएका दुबै टोली नेपाल र अमेरिका सुपर सिक्समा पुग्न नसकेपछि वेस्टइन्डिजलाई पनि विश्वकपमा पुग्न कठिन भएको हो । सन् १९७५ देखि सुरु भएको विश्वकपमा वेस्टइन्डिजले सुरुवाती दुई संस्करण जितेको थियो । वेस्टइन्डिजले सन् २०१२ र २०१६ मा टि–२० विश्वकपको उपाधि जितेको थियो ।
हिजो भएको खेलमा नेदरल्यान्ड्सलाई हराउँदै श्रीलंका विश्वकप नजिक पुगेको छ । सुपर सिक्समा श्रीलंका र जिम्बावे समान ३ खेलमा ६ अंकका साथ शीर्ष र दोस्रो स्थानमा छन् । जिम्बावे नेट रनरेटको कारण दोस्रो स्थानमा छ । आउँदो अक्टोबर–नोभेम्बरमा भारतमा हुने विश्वकपमा श्रीलंका र जिम्बावे छनोट हुने उच्च सम्भावना छ ।
फरकबाटो १६ असार २०८०, शनिबार १०:२१