पोखरा दुर्घटनाका कारण भुकम्प दिवसका अवसरमा आयोजना गर्न लागिएका कार्यक्रमहरु स्थगित


सुर्खेत । सोमबार राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएको भएपनि पोखरामा विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिइएकाले स्थगित गरिएको छ ।

१९९० साल माघ २ गते दिउँसो २स्२४ बजे भूकम्प गएको सम्झनामा सोमबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरिएको थियो ।

सरकारले राष्ट्रिय शोक घोषणा गरी बिदा दिएकाले प्रधानमन्त्री, गृहमन्त्रीलगायत आउने कार्यक्रम स्थागित गरिएको प्रचारप्रसार उपसमितिको सदस्यसचिवसमेत रहेका भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले जानकारी दिए ।

‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नाराका साथ दिवस मनाउने तयारी भएको थियो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो ।

यसैबिच आन्तरिक मामीला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशले समेत वीरेन्द्रनगरमा आयोजना गरेको भुकम्प सम्बन्धी कृतिम सिमुलेसन अभ्यासको कार्यक्रम समेत स्थगित भएको मन्त्रालयले जानकारी दिएको छ । यसैगरी देशभर कार्यक्रमको तयारी गरिएपनि सबै स्थगित गरिएको हो ।