चितवनमा ओलीले मेसिनबाट धान रोप्ने, रोपाइँमा पार्टीको झण्डा र ब्यानर प्रयोग नगर्ने


सुर्खेत । आज असार १५ मनाउन चितवन आएका नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीमा मेसिनबाट धान रोप्ने भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मेसिनबाट ओलीले धान रोप्ने क्रमको सुरुवात गर्ने छन् ।

विहीबार दिउँसो चितवन आएका ओलीले भरतपुर महानगरपालिका वडा नं.२४ मा रहेको केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीमा मेसिनबाट धान रोपेर १५ असार मनाउने कार्यक्रम रहेको एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए । धान रोपाइँ कार्यक्रममा पार्टीको ब्यानर र झण्डा बोकेर कोही पनि नजाने न्यौपानेले बताए ।

उक्त स्थानमा करिब ३ विघा जग्गामा धान रोपाइँ गर्ने कार्यक्रम छ । ओलीले मेसिनबाट धान रोपेपछि केहीबेर किसानहरूसँग अन्तर्क्रिया गर्ने र छोटो अनौपचारिक सम्वोधन पनि गर्ने कार्यक्रम तय भएको पनि बताइएको छ ।

रोपाइँ कार्यक्रम पछि भने ओली रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा त्यहाँका कृषिका विद्यार्थी, कृषि विज्ञ तथा प्राविधिकहरूसँग अन्तर्क्रिया गर्ने कार्यक्रम तय गरिएको छ ।