त्रिभुवन विमानस्थलमा यात्रु विदाई गर्नेको भीड बढेपछि ३ जनालाई मात्र प्रवेश अनुमति

सुर्खेत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एक जना यात्रुको बिदाइसँगै स्वागतका लागि तीन जनामात्रै जान पाइने भएको छ । सम्भावित हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै विमानस्थल सुरक्षा समितिले एक जनाका लागि तीन जनामात्रै जान पाउने निर्णय गरेको हो ।

टर्मिनल भवनमा धेरै भिड हुने गरेको र यात्रुलाई सास्ती भइरहेकाले ट्राफिक व्यवस्थापनमा समस्या भएको साथै दुर्घटनाको जोखिमसमेत बढेकाले त्यो निर्णय गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवन परिसरमा भिड बढेपछि हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै यो निर्णय गरिएको उनले बताए ।

अन्तर्राष्ट्रिय टर्मिनलमा साँझदेखि राति १० बजेसम्म अत्यधिक भिड हुने गरेको छ । विभिन्न गन्तव्यमा जाने यात्रुको बिदाइमा परिवार र आफन्तको भिड लाग्छ । तर, विमानस्थलको यो निर्णयको सामाजिक सञ्जालमा विरोध भइरहेको छ । विमानस्थल दुई वर्षअघि पनि यस्तै निर्णय गरेको थियो । तर, विरोध भएपछि कार्यन्वयन भएन ।

अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वायु सेवा प्रदायकले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वायु सेवा प्रदायकले उडान भरिरहेका छन् ।