सभामुखको उम्मेदवारीका लागि कांग्रेसले प्रधानमन्त्रीको धारणा कुर्ने


सुर्खेत । नेपाली कांग्रेसले सहयोगी दलहरुसँग छलफल गरेर प्रतिनिधि सभा सभामुखको चुनावमा लाग्ने बताएको छ । बुधवार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले सभामुखको लागि उम्मेदवारी दर्ता गर्ने केही समय अझै बाँकी रहेकाले यो बीचमा अन्य दलहरुसँग छलफल गरेर सभामुखको उम्मेदवारी दिने तयारीमा रहेको कांग्रेस प्रवक्ता एवं सांसद डा.प्रकाशशरण महतले बताएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमतिकै आधारमा संवैधानिक पदहरु चयन गर्ने आश्वासन दिएकाले प्रधानमन्त्रीको आधिकारिक धारणा कुर्ने पक्षमा कांग्रेस रहेको पनि बताए ।

उनले बैठकमा सर्वदलीय बैठकमा भएका कुराहरुका बारेमा उपस्थित नेताहरुले बैठकमा जानकारी गराएको र अन्य दलहरुसँगको छलफलबाट निस्कर्ष आएपछि काँग्रेसले दलहरुसँग गरेको सहमतिका आधारमा सभामुखको लागि उम्मेदवारी दिने सुनाए । प्रवक्ता महतले काँग्रेस समझदारीबट भए समझदारीकै रुपमा अघि बढ्ने र समझदारीबाट नभए पनि उम्मेदवारी दिने पक्षमा रहेको जानकारी दिए ।

प्रवक्ता महतले जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी) कांग्रेसलाई सहयोग गर्ने पक्षमा रहेको स्पष्ट पारे ।