दूधको मूल्य ९ रुपैयाँ बढ्यो


सुर्खेत । सरकारले दूधको मूल्य एकै पटक ९ रुपैयाँले बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको हो ।

किसानको हितलाई ध्यानमा राखी दूधको न्यूनतम मूल्य निर्धारण गरिएको जनाइएको छ । यसअघि किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गर्दै आएका थिए । राष्ट्रिय दुग्ध विकास बोर्डले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सरकारले दूधको मूल्य बढाएको हो ।

कृषि तथा पशुपंक्षी मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्रिपरिषद्ले प्रतिलिटर ९ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको छ । ‘अहिले दूधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा छ । आज कृषि मन्त्रालयले पठाएको प्रस्तावअनुसार ९ रुपैयाँ बढेको जानकारी आएको छ,’ ती अधिकारीले भने ।

योसँगै अब एक लिटर दूधको उपभोक्ता मूल्य ६५ रुपैयाँ पुगेको छ । हरेक दुई वर्षको मूल्य समायोजन गरिने बताइए पनि सरकाले पछिल्लो एकै वर्षमा दुई पटक दूधको मूल्य बढाएको हो ।

गत वर्ष माघ २८ गते सातौं पटक दूधको मूल्य बढ्दा किसानले पाउने मूल्य ५६ रुपैयाँ ४ पैसा पुगेको थियो । अहिले देशभर वार्षिक करिब २५ लाख टन दूध उत्पादन भइरहेको तथ्यांक छ ।