इन्डिगोले ५५ अर्ब डलरमा पाँच सय वटा विमान किन्ने


सुर्खेत । भारतको इन्डिगो एअरलाइन्सले फ्रान्सको जहाज निर्माता कम्पनी एअरबससँग पाँच सय वटा विमान खरिद गर्न सम्झौता गरेको छ । पेरिसमा चलिरहेको एअर शोका क्रममा इन्डिगोले यो कीर्तिमानी सम्झौताको घोषणा गरेको हो ।

एकैपटक पाँच सय वटा जहाज खरिदको सम्झौता हवाई उड्डयनको इतिहासमा अहिलेसम्मकै ठूलो सम्झौता भएको बीबीसी हिन्दीले जनाएको छ । पाँच सय वटा जहाज किन्नको लागि इन्डिगोले ५५ अर्ब अमेरिकी डलर अर्थात् ४५ खर्ब १५ अर्ब भन्दा धेरै भारतीय रुपैयाँ लगानी गर्नेछ । यी जहाजहरु सन् २०३० देखि २०३५ को बीचमा डेलिभरी हुनेछन् ।

एअरबसका मालिक गैलम फोरीले यो सम्झौतालाई एक कोसेढुङ्गाको रूपमा वर्णन गर्दै यति ठूलो सम्झौता अहिलेसम्म सायदै कसैले गरेको उल्लेख गरेका छन् । सन् २००६ मा स्थापना भएको इन्डिगो कम्पनीसँग अहिले तीन सय वटा विमान छन् भने यसअघि नै पाँच सय वटा विमान अर्डर खरिसकेको छ । अबको ११ वर्षपछि इन्डिगोसँग १३ सय वटाभन्दा धेरै विमान हुनेछन् । अहिले भारतीय आन्तरिक उडानको ६० प्रतिशत हिस्सा इन्डिगो कम्पनीले ओगटेको छ ।

इन्डिगो भारतको कम लागतको एअरलाइन्स कम्पनी हो । यो वर्षको सुरुमा अर्को भारतीय एअरलाइन्स टाटाले ४ सय ७० वटा एअरबस र बोइङ विमान किन्ने सम्झौता गरेको थियो ।