
सुर्खेत । नेपाल क्रान्तिकारी किसान संघ जिल्ला समितिको प्रथम सम्मेलन शुक्रबार सुर्खेतमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेपालका ठुला पार्टीहरुको गद्धारीपनका कारण देशको कृषि अर्थतन्त्र कमजोर भएको बताएका छन् ।
क्रान्तिकारी भूमिसुधार गरेर जमिन जोत्नेलाई विगरण नगरेसम्म देशको भूमि समस्या समाधान नहुने भन्दै शासक पार्टीहरुले वैज्ञानिक भूमिसुधारको नाममा किसानलाई झुक्याउन खोजको उनले तर्क गरे । ।
केन्द्रीय सदस्य गोसाईले शासक पार्टीहरुले कृषिसँग जोडिएका उद्योगधन्दा सबै निजीकरण गरेर भारतीय एकाधिकार पुँजीको सेवा गरेको भन्दै तिनकै बेइमानीको कारणा आजको आर्थिक संकट निम्तिएको उनले बताए ।
कर्णाली प्रदेशको बेरुजु १ अर्ब ६८ करोड रुपियाँ भएबाट भ्रष्टाचार कुन हदमा पुगेको भन्ने प्रस्ट भएको उल्लेख गर्दै उनले शासक पार्टीको संरक्षणप्राप्त ठेकेदारहरुले कर्णालीका सडकहरु अलपत्र छाडिएको उनले बताए । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नर्मा गुरुङंले माक्र्सवाद बुझेर व्यवहारमा लागु गर्नुपर्ने भन्दै परिवर्तनको निम्ति सदा क्रियाशील हुनुपर्ने धारणा राखिन् ।

उनले समाजको आमूल परिवर्तनको निम्ति महिला आन्दोलन अपरिहार्य भएको भन्दै प्रत्येक व्यक्तिको स-सानो योगदानबाट ठुल्ठुला परिवर्तन हुने बताईन् । कार्यक्रममा नेमकिपाका पूर्व केन्द्रीय सदस्य उदयजंग शाही, सुर्खेत जिल्ला समितिका अध्यक्ष हरिबहादुर बोहरा,नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष प्रकाश गुरुंङ, नेमकिपा, दैलेखका उपाध्यक्ष लक्ष्मीकुमार विक, नेक्रायुसंघका केन्द्रीय उपाध्यक्ष लालबहादुर थापा लगाएतले धारणा राखेका थिए ।
शुक्रबार नै सम्पन्न बन्दसत्रबाट पुष्प रानामगरको अध्यक्षतामा ९ सदस्यीय नेक्राकिसंघ, सुर्खेत जिल्ला समिति गठन गरेको छ ।
बन्दसत्रले किसानलाई समयमै गुणस्तरीय बिउ र रासायनिक मलको व्यवस्था गर्न, स्वदेशमै रासायनिक मल कारखाना खोल्न माग गरेको छ । त्यस्तै कृषि उत्पादन बढाउनको निम्ति सिँचाईको उचित बन्दोवस्त् गर्न, नक्कली किसानलाई अनुदान बन्द गर्न नेक्राकिसंघ, सुर्खेतले माग गरेको छ ।

फरकबाटो २२ बैशाख २०८०, शुक्रबार २०:५७