पक्राउ परे अमृतपाल सिंह

सुर्खेत । स्वायत्त राज्य खलिस्तान समर्थक अमृतपाल सिंह भारतमा पक्राउ परेका छन् । उनी पञ्जाबको मोगाबाट पक्राउ परेका पञ्जाबका प्रहरी अधिकारीले आधिकारिक रुपमा पुष्टि गरेका छन् । पञ्जाब पुलिसले ट्विट गरी सिंह पक्राउ परेका जानकारी दिएको छ ।

शिख समुदायका लागि स्वायत्त राज्यको माग गर्दै सिंहले ‘वारिस पञ्जाब दे’ संगठनको नामबाट गतिविधि गर्दै आएका थिए । संगठनका प्रमुख अमृतपाल सिंह नेपालमा लुकेर बसेको यसअघि नेपालमा रहेको भारतीय दूतावासले दाबी गरेको थियो । तर नेपाल प्रहरीले त्यसको खण्डन गरेको थियो ।

लामो समय दुबईमा बसेर उनी गएको वर्ष अगष्टमा पञ्जाब फर्किएका थिए । यसअघि पञ्जाबबाट उनका काका र थुप्रै समर्थकलाई पक्राउ गरी छाडिएको थियो । तर उनी गएको मार्चदेखि फरार थिए । उनका बुबा तरसेम सिंहले छोरा अमृतपालको ज्यानको खतरा रहेको बताएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पञ्जाब प्रहरीले नागरिकलाई शान्ति र सद्भाव कायम राख्न पनि अनुरोध गरेको बीबीसी हिन्दीले जनाएको छ । सिंहमाथि विभिन्न १६ वटा मुद्दा दर्ता छन् । उनी र उनका समर्थक तथा सहयोगीलाई समाजमा घृणा फैलाउने, ज्यान मार्ने उद्योग, प्रहरीमाथि हातपात र सरकारी कर्मचारीको काममा अवरोध गरेको अभियोगमा मुद्दा दर्ता भएको छ ।