बालकुमारी घटनामा मृतकका परिवारलाई सरकारले १०/१० लाख दिने


सुर्खेत । सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई १०/ १० लाख रुपैयाँ दिने भएको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

उनले भनिन्, ‘मृतकका परिवारलाई प्रति परिवार १० लाख उपलब्ध गराउने र उक्त घटनामा घाइतेहरूको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । ‘

आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले यस्तो सिफारिस गरेको थियो ।

त्यसको औपचारिक निर्णय मन्त्रिपरिषद्को औपचारिक बैठक बसेर गरिएको हो । शुक्रबार बालकुमारीमा भएको प्रदर्शनमा मृत्यु हुनेमा डोटीका २२ वर्षीय साह र दैलेखका २३ वर्षीय सुजन रावत छन् ।

कोरिया भाषा परीक्षामा रोक लगाएर युवाहरूलाई उत्तेजित र आक्रोशित बनाएको, उनीहरूलाई परीक्षा दिनबाट वञ्चित गरेको र त्यसैको आक्रोशका रूपमा युवाहरूले शुक्रबार प्रदर्शन गरेको भन्दै सरकारले ईपीएस शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई पनि निलम्बन गरेको छ ।

यस्तै बालकुमारीमा प्रहरीको कमाण्डमा खटिएका डीएसपी पनि दोषी देखिएकाले उनलाई निलम्बन गरिएको छ । बैठकले प्रहरी नायब उपरीक्षक डीएसपी उमेश जोशी र मन्त्री प्रकाश ज्वालाका पीएसओ हरी नायब निरीक्षक सई बोधराज दनुवारलाई निलम्बन समेत गरेको छ ।

त्यस्तै , ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालयमा जिम्मेवारी दिएको छ । भने ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्र पण्डितलाई गृह मन्त्रालयमा पठाउने अनौपचारिक निर्णय गरेको छ ।