कोशीका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सर्वोच्चले प्रारम्भिक सुनुवाइ गर्दै


सुर्खेत । नेपाली काँग्रेसका उद्धव थापालाई संविधान विपरीत कोशी सरकारको मुख्यमन्त्रीमा नियुक्त गरिएको दाबीसहित नेकपा एमालेले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ।

निवर्तमान मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीले शुक्रबार सर्वोच्चमा रिट दर्ता गराएका थिए । सोही रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।

रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, सभामुख बाबुराम गौतम लगायतलाई विपक्षी बनाइएको छ ।

अघिल्ला मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख खापुङले थापालाई शुक्रबार मुख्यमन्त्री नियुक्त गरेका थिए । थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्दा सभामुख गौतमले समेत समर्थन गरेका छन् ।

संविधानको धारा १६८ को २ अनुसार दलको समर्थनमा मुख्यमन्त्री हुने प्रावधान भए पनि सभामुखलाई प्रयोग गरेर मुख्यमन्त्री नियुक्त गर्नु संविधान विपरीत भएको तर्क गर्दै एमाले सर्वोच्च अदालतमा पुगेको हो ।