नक्कली मतपत्र र स्वस्तिक छापसहित पर्सामा दुईजना पक्राउ

सुर्खेत । नक्कली मतपत्र र स्वस्तिक छापसहित पर्सामा दुईजना पक्राउ परेका छन् । जगरनाथपुर गाउँपालिका–४ का ४५ वर्षीय सहवीर अहमद र सिन्धुलीको दूधौली–९ का २१ वर्षीय सुरज साहलाई पक्राउ गरिएको हो ।

गाडीबाट नक्कली मतपत्र ५ सय ९८ थान र ४ थान स्वस्तिक छाप बरामद भएपछि उनीहरुलाई पक्राउ गरेर सेनाले नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

सुरज सवारी चालक हुन्। पर्सा–४ मा पर्ने कालिकामाई गाउँपालिका–१ मुड्लीमा गस्ती गरिरहेको नेपाली सेनाको टोलीले शनिबार दिउँसो बा १४ च ४७ ४८ नम्बरको गाडी चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा उनीहरुले मौन अवधिमा प्रचारप्रसार गरेको र नक्कली मतपत्रसहित स्वस्तिक छाप फेला पारेपछि पक्राउ गरिएको हो ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।