जनकपुर–जयनगर रेल आजदेखि दिनको ४ पटक आउजाउ हुने


सुर्खेत । नेपालको कुर्थाबाट भारतको जयनगरसम्म आज शुक्रवारदेखि दिनको चार पटक रेल आउजाउ हुने भएको छ । अहिले नेपालको कुर्थाबाट भारतको जयनगरसम्म सञ्चालनमा रहेको नेपालको एकमात्र रेल सेवा नेपाल रेल्वेले शुक्रवारदेखि दिनको चार पटक आउजाउ गर्दै सेवा विस्तार गरेको हो । यसअघि दुई पटकमात्र आउजाउ गर्ने गरेको रेल नयाँ वर्ष २०८० को प्रारम्भसँगै आजदेखि चार पटक आउजाउ गर्ने गरी सञ्चालनमा आउने भएको हो ।

रेल्वेका महाप्रबन्धक निरञ्जन झाका अनुसार अब नेपालको कुर्थाबाट रेल बिहान ७ बजेर १५ मिनेटमा र बेलुकी २ बजेर ४५ मिनेटमा भारतको जयनगरका लागि छुट्नेछ भने भारतको जयनगरबाट रेल जनकपुरधाम वा कुर्थाका लागि बिहान ९ बजेर ३० मिनेट र बेलुकी ५ बजे छुट्नेछ ।

यो सेवा विस्तारसँगै रेल्वेमा यात्रुको चाप कम हुने र आरामदायी यात्रा हुने विश्वास छ । यसअघि एक पटक मात्र कुर्थाबाट खुल्ने गरेको रेलमा यात्रु बस्ने सिटको अभाव र भिड हुने गरेको थियो ।